नेपाल समाचारपत्र, गुल्मी।
सूचना अधिकारीले सूचना माग्दा सूचना मात्रै दिने गरेको गुल्मीका सरोकारवालाहरूले बताएका छन्। सोमबार राष्ट्रिय सूचना आयोगको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा जनप्रतिनिधि कार्यालय प्रमुख, सूचना अधिकारी, अधिकारकर्मी एवं सञ्चारकर्मीलगायत नागरिक समाजका प्रतिनिधिहरूसँग सूचनाको हकसम्बन्धी अन्तक्रिया गरेको हो।
कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, नेपाल वार एसोसिएसन गुल्मीका अध्यक्ष गोपाल खनाल, नागरिक समाजका अध्यक्ष पदमप्रसाद पाण्डेलगायतले कार्यालयमा सूचना अधिकारी तोक्ने परिपाटी भए पनि कार्यालयको पुरा जानकारी दिन नसक्ने गरेको बताउनुभयो। मागेजति जानकारी नपाउँदा अन्त्यमा कार्यालय प्रमुखबाटै सूचना लिनुपर्ने गरेको बताउनुभयो।
सहभागीहरूको सूचना अधिकारी र कार्यालय प्रमुखबीच समन्वयकारी भूमिका नहुँदा पनि सूचना अधिकारीले मागेअनुसार सूचना दिन नसकेको भनाइ थियो। सूचना दिने हक अधिकार कानुनमा व्यवस्था भए पनि नागरिकको निम्ति सरल नभएको बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त यसोदा देवी तिमल्सिनाले सूचना के हो, सूचनाको हक अधिकार के–के बारे जानकारी गराउनुभयो। सूचना कसरी लिन सकिन्छ, दिन मिल्ने सूचना, दिन नमिल्ने सूचनालगायतका बारेमा जानकारी गराउनुभयो।
उहाँले सबै संघसंस्थाले आफ्ना सूचनाहरू नागरिकले चाहेको खण्डमा सहजै रुपमा जनतालाई दिने व्यवस्था मिलाउन आग्रह गर्नुभयो। कार्यक्रममा रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले सूचना दिने सवालमा अधिकतम प्रयोग गरेको बताउनुभयो।
उहाँले आफ्ना गतिविधिलाई सार्वजनिकरण गरेरै कार्यक्रम गर्ने गरेको भुसालको भनाइ छ।गुल्मी जिल्लामा सूचना लिने सवालमा कुनै पनि कमी नरहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको भनाइ थियो। जिल्लामा हालसम्म सूचना लिन नपाएका कुनै पनि घटना अर्थात उजुरी नभएको बताउनुभयो।
जिल्लामा सबै सूचना अधिकारीले आफ्ना गतिविधि चाहेको खण्डमा दिने र त्यसका लागि कार्यालय प्रमुखहरूले सहजीकरण गरेर अगाडि बढने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो। उहाँले नागरिकले पाउनुपर्ने सूचनाको अधिकारलाई कुण्ठित नगरी सूचना दिने व्यवस्था कत्ति पनि कमी नरहने प्रतिबद्ध रहेको निरौलाको भनाइ थियो।











प्रतिक्रिया