रसुवाको माथिल्लो भेगमा भालु आतंक

0
Shares

सरस्वती न्यौपाने, रसुवा। 

जिल्लाको माथिल्लो भेगमा भालुको आतंक बढेपछि साझबिहान एक्लै हिँडडुल नगर्न लाङटाङ राष्ट्रिय निकुञ्जले आग्रह गरेको छ। भालु साझपख र राति सक्रिय हुने भएकाले मानव वस्तीमा आतंक मच्चाउने गर्छन्। निकुञ्जका अनुसार वनजंगल मासिदै जानु र वासस्थान अतिक्रमणका कारण जनावरहरू मानव वस्ती सहजै आउने गर्छन्।

यस्तै यही कात्तिक १७ गते गोसाइकुण्ड गाउँपालिका–५ तिवारीबाट स्याफ्रुबेंसी आउँदै गर्दा करिब ५ बजे ताक आङदावा तामाङ गम्भिर घाइते भए उनलाई टाउको र अनुहारमा चोट लागेको छ। निरन्तर एकपछि अर्को असोज १० गते सोही गापा–६ भिमलीमा हरिप्रसाद घिमिरे भालुको आक्रमणमा परे उनी जंगलको बाटो हिँडेर सदरमुकाम आउँदै थिए।

भालुकै आक्रमणबाट आमाछोदिङमो गापा–१ हाकुका मिना तामाङ नौकुण्ड गापा–१ यार्साका मेम्बर लोप्चन र बेलकोटगढी नगरपालिका–११ नुवाकोटका प्रकाश तामाङ घाइते हुनुभएको छ।

भालुले अहिलेसम्म १० वटा घरमा क्षति पुर्याइसकेको छ भने पछिल्लो समय भालु गाउँघरमै पस्न थालेको छ।गोसाइकुण्ड गापा–३ वृद्धिम र खाम्जीङमा दिउँसै दिनदिनै घरमै आइ दुःख दिने गरेको त्यहाँ स्थानीयहरूको गुनासो रहेको छ। जाडो महिनामा भालु गुफामा बस्छन्।

क्षतिको राहत सहयोग निर्देशिकाको दोस्रो संशोधन २०७४ अनुसार सरकार ले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिको परिवारलाई क्षतिपुर्तिबापत बढीमा १० लाख रुपियाँसम्म दिने व्यवस्था गरेको र सामान्य घाइतेलाई २० हजार र सख्त घाइतेलाई प्रकृति हेरी पेस गरेको कागज र चिकित्सकको सिफारिसका आधारमा बढीमा दुई लाखसम्म उपचार खर्च दिने व्यवस्था रहेको छ।

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ को दोस्रो संशोधन २०७४ मा मानवीय क्षतिका लागि राहत दिने व्यवस्था रहेकाले भालुको आक्रमण गरेपछि घाइतेहरू पाँच जनाले राहतका लागि लाङटाङ राष्ट्रिय निकुञ्जमा निवेदन दिइसकेका छन्। त्यसमध्ये दुई जनाले राहत रकम पाइसकेको प्राविधिक तथा रेञ्जर रमेश बस्नेतले बताउनुभयो।