‘हर्न र प्लास्टिक निषेध’ क्षेत्र घोषणामै सीमित

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

मुलुककै प्रमुख प्रवेशद्वार वीरगन्ज महानगरपालिकालाई सभ्य, सुसंस्कृत र सफा राख्न भनी थालिएको ‘हर्न र प्लास्टिक निषेध’ क्षेत्र घोषणा गरिएपनि त्यो घोषणामै सीमित भएको छ ।

०७५ पुस १७ गते वीरगन्ज महानगरपालिकाले नगरलाई ‘हर्न र प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेको भए पनि कार्यान्वयनमा नआएको हो ।०७५ मंसिर १८ गते बसेको कार्यपालिका बैठकले वीरगन्ज महानगरपालिकालाई पुस १७ बाट हर्न र प्लाष्टिक निषेध गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप हर्न र प्लास्टिक निषेध गरेको महानगरपालिकाले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेन । घोषणापछि एक साता नगरबासीलाई सम्झाउने र अटेर गरेको खण्डमा जरीवाना लिने भनिएको थियो । तर, महानगरपालिकाले त्यस्तो कुनैपनि गतिवधि गरेन । घोषणा गरेको करिब एक बर्ष हुनै लाग्दा समेत प्रभावकारी रुपमा कार्यान्वयन हुन नसेको हो ।

सवारी चालकले मनलाग्दी चर्को आवाजमा हर्न बजाउने गरेका छन् । वीरगन्जको मुख्य सडक छेउछाउका व्यापारीहरुले समान बिक्री पछि निस्केको प्लाष्टिक सडकमा फाल्ने गरेका छन् । महानगरपालिका निरिह बनेर तमासा हेरेर बसेको छ । जथाभावी फोहोर गर्नेलाई महानगरपालिकाले ५ हजारदेखि १ लाखसम्म जरीवाना गर्न सक्ने व्यवस्था ऐनमा छ । आफूहरुले नगरवासीलाई आग्रह गरेको र अब कानुन अनुसार कारवाही गरेर भएपनि अभियानलाई कार्यान्वयनमा लगिने वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीले बताउनुभयो ।