नागरिकको उपचारको जिम्मा राज्यले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल

0
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाइने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “पैसा नभएका कारण उपचार हुनबाट नागरिक वञ्चित हुनु पर्दैन । राज्यले नागरिकको उपचारको जिम्मा लिन्छ । ‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति नागरिकलाई दिन्छु, मेरो पहिलो ध्यान यसैमा रहन्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालेपछिको पहिलो औपचारिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले स्वस्थ्य नागरिक भएमात्र समृद्ध नेपाल बन्छ भन्नुभयो ।

बालस्वास्थ्य तथा खोप सेवा शाखाद्वारा आज यहाँ आयोजित दादुरा रुवेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढीकरण पूर्वतयारी बैठकमा उहाँले स्वास्थ्य क्षेत्रमा विधि र थिति बसाली सम्मानित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री ढकालले भन्नुभयो, “समग्र मन्त्रालयका बारेमा ब्रिफिङ लिँदैछु । यो सकिएपछि केही नयाँ कामको शुरुआत गर्छु । नीति तथा कार्यक्रम र बजेटमा भएका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लान मेरो जोड रहन्छ ।” यसअघि ढकालले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो ।

मन्त्रालयका सचिव खगराज बरालले स्वास्थ्य सेवाका कर्मचारी समायोजनका समस्याका कारण खोप अभियानमा समस्या आउन नदिइने बताउनुभयो । स्वास्थ्य सेवाका कर्मचारी समयोजनका कारण पछिल्लो समय खोप अभियान प्रभावित बन्न पुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक रोशन पोखरेलले खोपको भण्डारण र व्यवस्थापन प्रादेशिक तहबाट गर्न आवश्यक सबै अधिकार प्रत्यायोजन भएको जानकारी दिँदै आर्थिक निर्देशिकासमेत तयार भएको जानकारी दिनुभयो ।

परिवार कल्याण महाशाखाका निमित्ति निर्देशक केदार पराजुलीले विगत ४० वर्षमा नेपालले खोपका क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको चर्चा गर्दै अगामी दिनमा खोप कार्यक्रमलाई थप व्यवस्थित बनाइनेछ भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा जोस भेन्डरले सन् २०२३ सम्म नेपालबाट दादुरा रुवेला रोग निवारण गर्न खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।