सल्लाको रुखमा बनाइएको घरमा पर्यटन मन्त्री



नेपाल समाचारपत्र, गुल्मी।

गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्यटकीय गन्तव्य बनाउनको निम्ति निर्माण भएको ट्रि–हाउसको उद्घाटन गरिएको छ। जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिका–७ को उनायचौरमा सल्लाको रूखमा ट्रि–हाउस निर्माण गरिएको हो।

ट्रि–हाउस उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले उद्घाटन गर्नुभएको हो। मन्त्री गिरीले प्रदेश सरकार कानुन निर्माण गर्न ढिलाइ हुँदा पर्यटकीय क्षेत्रमा सोचेअनुसार काम हुन नसकेको बताउनुभयो। अब कानुन निर्माण गरेर पर्यटनको क्षेत्रमा देखिने गरी काम अगाडी बढाइने बताउनुभयो।

ट्रि–हाउसको अवलोकन गर्दै प्रदेश ५ कृषि पर्यटनबाट मात्रै समृद्ध हुने भएकाले आफू योजनाबद्धरूपमा लागिपरेको बताउनुभयो। उहाँले प्रदेश नम्बर ५ पर्यटनको क्षेत्रमा अगाडि रहेकाले कृषिमा रहेको प्रधान अर्थतन्त्रलाई केही वर्ष पर्यटनका आधारमा रहेको प्रधान अर्थतन्त्रको रूपमा अगाडि बढाउने उहाँको भनाइ छ।

पर्यटन क्षेत्रलाई अगाडि ल्याउन र यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रलाई बृहत्तर विकास गर्न तीनै तहको सरकार मिलेर अगाडि बढ्ने बताउनुभयो। भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य सम्पन्न हुने क्रममा रहेकाले लुम्बिनी, रुरुक्षेत्र, रेसुङ्गा, सुपादेउराली, स्वर्गद्वारी, बाँके, बर्दियालगायत तमाम पर्यटकीय क्षेत्रमा धेरै पर्यटक आउने उहाँले बताउनुभयो।

यसक्षेत्रमा प्रदेश सरकारले धेरै बजेट छुट्टाएर पर्यटकीय स्थलहरू निर्माण गर्ने कार्य अगाडि बढेको मन्त्री गिरीको भनाइ छ। पहाडबाट तराई झर्ने कार्य बन्द भएर अबको दश वर्षपछि तराईबाट पहाडमा मान्छेहरू बस्न आउने वातारण तय हुने उहाँले बताउनुभयो।

गत भदै ३ गतेदेखि सञ्चालनमा आएको ट्रि–हाउसमा करिब २० हजारले अवलोकन गरिसकेका छन्। ४२ फुट अग्लो रूखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ।

रूखको टुप्पोमा पुग्न १ सय सिँढी उक्लनु पर्छ। त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालका दृश्यावलोकन गर्न सकिन्छ। ‘ट्रि–हाउस’ मा चढ्न विद्यार्थीलाई १० रुपियाँ, अन्यलाई २० टिकट र ज्येष्ठ नागरिकलाई निःशुल्क गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्