उपनिर्वाचनको सुरक्षा अवस्था बुझ्न डीआईजी घिमिरे बुर्तिबाङमा

उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न निर्देशन



बागलुङ, नेपाल समाचारपत्र। 

गण्डकी प्रदेशका प्रहरी प्रमुख विनोद शर्मा घिमिरे बाग्लुङको बुर्तिबाङ पुगेर आशन्न प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको उपनिर्वाचनको सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिनुभएको छ।

बुर्तिबाङ स्थित उपनिर्वाचनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिन र निर्वाचनमा सुरक्षा अवस्थाका बारेमा जानकारी लिन घिमिरे स्थलगत अवलोकनका लागि सो स्थान पुग्नुभएको हो।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घिमिरेलगायत बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय बाग्लुङ प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टलगायत अन्य सुरक्षा निकायका पदाधिकारीले संयुक्तरूपमा अनुगमन र सुरक्षालाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो।

अनुगमनका क्रममा उक्त स्थानको सुरक्षा अवस्था, जनशक्ति तथा स्रोत साधन परिचालनलगायतका विषयमा छलफल गरिएको थियो।

प्रदेश प्रहरी प्रमुख घिमिरेले उपनिर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा विश्वसनीय वातवरणमा सम्पन्न गराउनका लागि विशेष सुरक्षा रणनीति अनुरुप उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिनुभएको थियो।

यही मंसिर १४ गते बाग्लुङमा प्रदेश सभा २ ‘ख’ र बडिगार्ड गाँउपालिका–२ को वडाध्यक्ष पदसहित गण्डकी प्रदेशका लमजुङ, कास्की र नवलपरासी पूर्व गरी ४ जिल्लामा ५ सिटका लागि उपनिर्वाचन हुँदैछ।

जसमध्ये १ प्रतिनिधि सभा कास्कीमा, १ प्रदेश सभा बाग्लुङमा र बाग्लुङ, लमजुङ र नवलपरासी पूर्वका ३ स्थानीय तहको उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्