ढुंगाको मायाले जंगलमै बितेको जीवन

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत । 

उमेरले ६३ बर्षको हुनुभएको छ नन्दबहादुर फगामी मगर । कपाल फुलेका छन, गालामा चाउरी परेको छ । आँखा पनि बस्न थालेका छन । बुढेसकाले छोप्तै लगेपनि उहाँलाई जंगलको गोठ छाडेर गाउँमा रहेको घर छाड्न मन छैन ।

पर्वतको उत्तरमा पर्ने हम्पालको जंगलमा रहेको ढुंगाले छाएको गोठमा बस्दै आउनु भएका फगामीलाई ३३ बर्ष देखि जंगलले भन्दा ढुंगाको मायाले घर फर्कन दिएको छैन । जंगलमा उहाँको एउटा मात्रै घर छ । हम्पालको तल्लो भेगमा ढुंगा निकालेर जीबिकोपार्जन गर्दै आउनुभएका फगामी भन्नुहुन्छ ‘ढुंगाले तानेर युबा अबस्थामा नै जंगलमा ल्यायो, यसकै मायाले जंगल छाड्न सकिन’ पर्वतको जलजला गाउँपालिका वडा नं ६,७ र ९ को शिरमा पर्ने हम्पाल क्षेत्रमा घर छाउन प्रयोग हुने ढुंगाका बिशाल खानी छन । माटे, जलजलामा स्लेट जस्तै पातलो ढुंगाहरु पाइन्छन । एउटै ढुंगा अन्न सुकाउने मान्द्रो जस्तै ठुलो आकारमा निकाल्न सकिने भएकाले टाढा टाढाका मानिसहरु ढुंगा किन्न आउँथे । ढुंगाको ब्यापार राम्रो देखेपछि नन्दबहादुरले पनि गोठमा बसेर ढुंगा निकाल्न थाल्नुभयो ।

पहिले गाई,भैसीपाल्न र आलु लगाउन बनाइएका खर्कहरु प्रशस्त भएकाले उहाँले पनि २०४० सालमा ३ हजार ७ सयमा एउटा खर्क किन्नु भएको थियो । त्यही खर्कमा ढुंगा निकाल्दा सामुदायिक वन देखि सरकारी वनले पनि उहाँलाई अबरोध गर्न सक्ने कुरै भएन । त्यस बखत कास्कीको सल्यान, दाङ्गसिङ्ग, पर्वतको बाजुङ्ग, शालिजा, बनौ, लेखफाँट, मल्लाज, दुर्लुङ्ग, देउपुर, देउराली सम्म उहाँको खानीमा ढुंगा लिन आउथे । ‘ढुंगा बिक्रीबाट राम्रो कमाई भएपछि गाउँ छाडेर यही बसेको हुँ’ उहाँले भन्नुभयो ‘अहिले ढुंगाको माग घटेपनि जंगल छाडेर जान सकेको छैन’

घर,गोठ छाउने ढुंगा बिक्री गरेरै उहाँले ५ जना छोराछोरी हुर्काउनुभयो । छोरीहरुको बिहे भयो, छोराहरु जलजला ९ बनौ गाउँमा रहेको घरमा झरिसकेका छन । उहाँ र श्रीमती भने जंगलकै बिचमा रहेको गोठमा रमाउनुभएको छ । आलु र तोरी लगाउने र ढुंगा निकालेर अहिले पनि हातमुख जोड्नु हुन्छ । शुरुमा ९ रुपैंयामा एक हात ढुंगा बिक्री गर्नुहुन्थ्यो भने पछिल्लो समयमा एक हात ढुंगाकै ३ हजार सम्म मुल्यमा बेचेको अनुभव छ । टिनको पाता भन्दा पनि ठुला ढुंगा निस्कन्छन । तर त्यसलाई बजारमा पु¥याउने हो भने घर छाउने मात्रै होइन मार्बलको सट्टामा प्रयोग गर्न पनि सकिन्छ । यस तर्फ कसैले ध्यान नदिएका उहाँको भनाई छ ।

जंगलको बिचमा बाघ, भालु, मृग संग मितेरी गाँसेर बस्नु भएका फगामी अब भने ढुंगा बिक्री नहुने तथा निकाल्न पनि बुढ्यौलीका कारण नसक्ने अबस्थाा हुनुहुन्छ । जंगलमा एकान्तमा बस्दा पनि कुनै कुराको डर भने छैन । खुसीसाथ जंगलमै बस्दै आउनुभएका फगामी भन्नुहुन्छ ‘ढुंगाकै मायाले यहाँ सम्म आए, माया मारेर गाउँ झर्न सकिन’ ।