बाइक चोरेर भाग्दा भाँच्चियो ‘ब्युटीबोन’

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मोटरसाइकल चोरी कार्यमा संलग्न र लागुऔषध गाँजा ओसार्ने गरी ६ जनालाई पक्राउ गरेर मकवानपुर प्रहरीले हेटौंडामा सार्वजनिक गरेको छ । विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्ने ४ जना र गाँजा ओसार्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा बारा कोहल्बी नगरपालिका–९ का १८ वर्षीय निरञ्जन चौधरी, रौतहट गजुरा नगरपालिका–४ का २२ वर्षीय राजकपुर चौधरी, गजुरा नगरपालिका–४ घर भएर बाराको निजगढ बस्ने ३१ वर्षीय ज्ञानेन्द्र चौधरी र बारा कोहल्वी नगरपालिका–६, पर्सौनीका २२ वर्षीय धिरज चौधरी छन् ।

ज्ञानेन्द्र मोटरसाइकल चोर्ने गिरोहको नाइके रहेको प्रहरीको दाबी छ । उनी यसअघि मोटरसाइकल चोरी मुद्धामा ३ लाख १० हजार रुपियाँ घरौटी बुझाएर २०७५ पुस ३ गते रिहा भएका थिए ।

चोरी गर्ने गिरोहका नाइके भनिएका चौधरीलाई चितवनबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३००२ प ५९४७ नम्बर बुलेट बाइकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले चलाएको मोटरसाइकलको पछाडि बसेका धिरजलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वपश्चिम राजमार्गको हेटौंडा–१९ बाट निरञ्जन चौधरीलाई प्रदेश ३–०२–०१० प २४५९ नम्बर मोटरसाइकलसहित पक्राउ गरेको हो । हेटौंडा–लेवट खण्डबाट अनटेष्ट मोटरसाइकलसहित राजकपुर पक्राउ परेका थिए । नेवारपानीको टोलीलाई छक्याएर भागेका राजकपुरलाई लेवटको टोलीले पक्राउ गरेको हो । प्रहरीलाई छक्याएर भाग्ने क्रममा

मोटरसाइकलबाट लड्दा उनको दायाँ कुमको ब्युटीबोन (हड्डी) भाँच्चिएको र उनको उपचार भइरहेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।
उनीहरुलाई चितवनबाट मोटरसाइकल चोरी गरे ल्याउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुसहित प्रहरीले २२० सीसीका दुई वटा पल्सर र रोयल इन्फिल्ड बुलेट बाइक नियन्त्रणमा लिएको छ ।

मकवानपुर प्रहरीले गाँजासहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–१२ का २७ वर्षीय राजकुमार तितुङ र ३२ वर्षीय वीरबहादुर तितुङ छन् ।

मनहरीबाट हेटौंडा आउँदै गरेको बा. ५७ प २३४३ नम्बर मोटरसाइकल पूर्वपश्चिम राजमार्गअन्तर्गत् नेवारपानीमा जाँच गर्दा वीरबहादुरले बोकेको झोलामा रहेको साढे ५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सिंहले बताउनुभयो ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत् २ वर्षदेखि १० वर्ष कैद र १५ हजार रुपियाँदेखि १ लाख रुपियाँ जरिवाना र सवारी जफत हुने कानुनी प्रावधान छ ।