हनुमन्ते नदी सरसफाइ अभियान : सात टन फोहर सङ्कलन

0
Shares

मध्यपुरथिमि । हनुमन्ते नदी सरसफाइ अभियानको आज ९१औँ हप्ता मनोहरा र हनुमन्तेको सङ्गमस्थल हनुमान मन्दिरको अगाडिबाट नदीको सफाइ गरिएको छ । मध्यपुरथिमि नगरपालिका–९ र ललितपुर तथा काठमाडौँको सिमानामा रहेको हनुमन्ते नदीको आज भएको सफाइ अभियानमा सात टन फोहर सङ्कलन भएको हनुमन्ते अभियानका सफाइ दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिनुभयो ।

आजको अभियानका वीर दल गणका नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली, विभिन्न सामाजिक सङ्घसंस्थाहरुका टोली एवं प्रतिनिधि, सञ्चारकर्मीलगायतका अभियन्ता टोलीको सफाइ अभियानमा सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री एवं राप्रपा संयुक्तका नेता लोकेन्द्रबहादुर चन्दले देशमा साना कामबाट पनि ठूलो परिवर्तन गर्न सकिन्छ भन्नुभयो ।

उहाँले हनुमन्ते सफाइ अभियान हेर्दा सानो भएपछि यो नियमित र ठूलो परिवर्तनको काम भएकाले यसको अभियन्ताहरु सम्मानको पात्र भएको बताउँदै खोला र नदीहरुमा फोहर गर्नेहरु पनि फोहर गर्न अब रोक्नुपर्ने बताउनुभयो । विश्वमै वातावरण प्रदूषण भइरहेको बेलामा नेपालमा पनि यसको ठूलो चपेटामा परेको भन्दै उहाँले नेपालमा पनि वातावरण प्रदूषणबाट जोगाउन यस्ता काम प्रभावकारी हुने भएकाले सबैले साथ र सहयोग दिएर लाग्नुपर्ने बताउनुभयो ।