चिसोले सीमा प्रहरी चौकी सारियो

0
Shares

बीरबहादुर बम, मुगु। 

मुगु सदरमुकामबाट पूर्वी किनारामा पर्ने मुगुमकामारोङ गाउँपालिका २ मुगु गाउँमा रहेको सीमा प्रहरीचौकी सारेर बेँसीमा राखिएको छ। सीमा सुरक्षाका लागि राखिएको प्रहरी चौकी चिसो बढेसँगै बेँसी पुलु र सदरमुकाम गमगढीमा सारिएको हो।

नेपाल र चीनको सीमा नाकाबाट अबैध व्यापार आयातनिर्यात नहोस् भन्ने उद्देश्यले राखिएको सीमा प्रहरी चौकी चिसो अत्याधिक बढेकाले मुगुमकामारोङ गाउँपालिका ६ पुलुमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

बेँसी झरेका प्रहरी आगामी गर्मी सिजनमा यार्सागुम्बा टिप्ने समय वैशाख–जेठमा माथि लेकमा जाने र चिसोको समय कात्तिक अन्तिमतिर पुलु प्रहरी चौकी सदरमुकाम गमगढी झर्ने गर्दछन्।

मुगुमकामारोङ गाउँपालिको माथिल्लो क्षेत्रमा अत्यन्तै कठ्यांग्रिने चिसो हुने भएकाले विभिन्न समस्याका कारण प्रहरी चिसोमा ६ महिना बेँसी झार्ने र गर्मीमा ६ महिना माथितिर जाने गरेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो।

उहाँका अनुसार विभिन्न सेवा सुविधाहरू नभएको त्यस क्षेत्रमा हिउँदको समयमा चौकी राख्न निकै समस्या हुने गर्छ। यसैबीच चिसोका कारण करान भेगका माथिल्लो क्षेत्रका स्थानीय बेँसी झर्न शुरु गरेका छन्।

चिसो अत्याधिक हुने भएकाले मुगुमकामारोङ गाउँपालिकाको माथिल्लो भेगका मुगु, डोल्फ, चिताई, खारीलगायतका बस्तीका स्थानीय चिसो सिजनमा बेँसीतिर झर्न शुरु गरेका छन्।

मौसमी बसाइँसराइअनुसार माथिल्लो क्षेत्रमा बाक्लो हिमपात हुने भएकाले पशु चौपायका साथ स्थानीय बेँसी, पुलु ढुंग्रेधारालगायत तातो हुने स्थानमा झर्न शुरु गरेका छन् भने हुनेखाने सदरमुकमा गमगढी, जुम्ला, नेपालगन्ज, काठमाडौंसम्म बसाइँ सर्ने गर्दछन्।