कक्षा २ मा अध्ययनरत ७६ वर्षीय विद्यार्थी सम्मानित

0
Shares

नेपाल समाचारपत्र, खोटाङ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कक्षा २ मा अध्ययनरत वृद्धालाई सम्मानगरेको छ। शिक्षालाई उमेरले छेक्दैन भन्दै ७६ वर्षको उमेरमा सरस्वती मावि दिक्तेलमा कक्षा २ मा अध्ययनरत केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी जुरीमायाँ राईलाई सम्मान गरेको हो।

विद्यालय नर्स, डिजिटल विद्यालय तथा विद्यालय स्वास्थ्य कार्यक्रम उद्घाटनका क्रममा नगरपालिकाले सोमबार ज्येष्ठ विद्यार्थीलाई सम्मान गरेको हो।

किताब कापी बोकेर नातीनातिनी उमेरका बालबालिकासँगै विद्यालय धाइरहनुभएकी जुरीमायाँलाई नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले सरस्वती माविको प्राङ्गणमा आयोजित कार्यक्रममा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको हो।

वृद्धावस्थामा पनि विद्यालय धाएर समाज तथा अन्य विद्यार्थीलाई शिक्षाप्रति प्रोत्साहित गरेकोले कदर स्वरुप सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

बुढेसकालमा विद्यालय भर्ना भएर शिक्षा लिनका लागि उमेरले नछेक्ने उदाहरण बनेकामा उहाँलाई सम्मान गरिएको मेयर रिजालले बताउनुभयो।