पर्यटनको विकासमा जोड अपरिहार्य



सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘भ्रमण वर्ष २०२०’ घोषणा गरेको छ। नेपाल भौगोलिक हिसाबले विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। किनभने, यो भूमि विविध पर्यटकीय सम्पदाका कारण विश्वमाझ प्रसिद्ध छ।

खासगरी, सन् १९५० देखि नेपालमा बाह्य पर्यटकका लागि ढोका खुलेसँगै यहाँका धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक विविधताबारे संसारभरका राष्ट्रले चासो राख्न थालेका हुन्।

अझै त्यसमाथि विश्वको सर्वोच्च शिखर सगरमाथा, गौतमबुद्धको जन्मभूमि, पशुपतिनाथ, मुक्तिनाथ, रामजानकी मन्दिरलगायत सयौँ सांस्कृतिक पर्यटकीय गन्तव्य, ऐतिहासिक धरोहर, कलात्मक मठमन्दिर, साहसिक पर्यटन, पदयात्रा मार्ग एवम् जैविक विविधताले सम्पन्न मुलुकका रूपमा विश्व पर्यटन बजारमा नेपालले अलग पहिचान बनाउन सफल भएको छ।

पर्यटन क्षेत्र आर्थिक विकासको मेरुदण्ड मानिन्छ। विश्वलाई लोभ्याउने पर्यटन क्षेत्र र यहाँका ऐतिहासिक सम्पदाहरूको संरक्षण र संवद्र्धनमा ध्यान दिने हो भने नेपाल पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र बन्नेमा कुनै द्विविधा छैन।

हाम्रो मुलुकमा ‘अतिथि देवो भवः’ भन्ने मान्यताका साथ पर्यटकहरूलाई पाहुनाका रूपमा हार्दिकताका साथ स्वागत गर्ने र राम्रो आतिथ्य सत्कार गरी बिदाइ गर्ने संस्कार छ। कतिपय पर्यटन व्यवसायीहरूले छुटसहितका प्याकेज घोषणा गर्ने र पर्यटकलाई फूलमाला र खादा ओढाएर स्वागत गर्ने अनि पञ्चेबाजा बजाएर होटलहरूमा पुर्याउने, विविध सांस्कृतिक झलकहरू देखाएर यहाँको संस्कृतिबारे जानकारी दिने प्रयास पनि गर्दै आएको पाइन्छ।

पर्यटकलाई मनोरञ्जन प्रदान गर्दै बसाइ लम्ब्याउने खालका कार्यक्रम पनि यस दिवसमा आयोजना हुँदै आएका छन्। एक हिसाबले भन्ने हो भने यो दिवस पर्यटन व्यवसायीका लागि एउटा उत्सव पनि हो। सरकारले भ्रमण वर्ष घोषणा गरेको अवस्थामा पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरू पनि थुप्रै छन्।

२० लाख पर्यटक भित्र्याउने हाम्रो जुन लक्ष्य छ, त्यसका लागि सर्वप्रथम वातावरणमैत्री पूर्वाधार, सुविधासम्पन्न आवासका साथै गुणस्तरीय सेवा प्रदान गर्नु उत्तिकै जरुरी हुन्छ। धुवाँधूलो र प्रदूषण नियन्त्रणमा ध्यान दिँदै सुरक्षित भ्रमणको सुनिश्चितता अर्को चुनौती हो।

राजधानी काठमाडौँलगायत देशभरका सडकको बिजोग छ। यसको मर्मतसम्भारका साथै खाल्टाखुल्टी पुर्ने र सरसफाइमा ध्यान दिएर पर्यटकमैत्री व्यवहारको खाँचो पनि उत्तिकै छ।सरकारले भ्रमण वर्षमा दुई खर्ब रुपियाँ आम्दानी गर्ने महत्वाकांक्षी लक्ष्य राखेको अवस्थामा खर्च गर्न सक्ने पर्यटक भित्र्याउनु उत्तिकै आवश्यक हुन्छ।

पर्यटकलाई जति बढी खुशी पार्न सकियो पर्यटन बजारमा त्यति नै सकारात्मक सन्देश जाने भएकाले सरकारले निजी क्षेत्रसँग समन्वय गरी सामूहिक सहभागितामा पर्यटन उद्योगको विकास गर्नुपर्छ। कतिपय पर्यटकीय सम्भावना भएका क्षेत्रहरू ओझेलमा परिरहेका छन्। त्य

स्ता क्षेत्रहरूको प्रवद्र्धन गर्न सक्नुपर्छ। भ्रमण वर्ष घोषणा गरेकै भरमा पर्यटकको ओइरो लाग्ने पनि होइन। नेपाल संसारकै उत्कृष्ट गन्तव्यस्थल हो भन्ने कुराको प्रचारप्रसार नगरेसम्म पर्यटकहरू बढ्दैनन्। बन्द–हड्ताल र आन्दोलनजस्ता क्रियाकलाप भइरहे पर्यटकमा नराम्रो छाप पर्छ।

नेपाल भ्रमणका लागि सुरक्षित मुलुक हो भन्ने प्रभाव नपरेसम्म पर्यटक आकर्षित गर्न सकिँदैन। नयाँ प्रकृति, अनौठो संस्कृति, मनमोहक वातावरण र बहुसांस्कृतिक विविधताकै कारण पर्यटक घुम्न आउने हुन्।

पर्यटकलाई आम्दानीको स्रोत मानेर लुट्ने प्रवृत्ति र द्रुत व्यवहार अझै सच्चिन सकेको छैन। अतिथि भन्ने तर जसरी पनि जहाँ पनि लुट्ने व्यवहारले अन्ततः दीर्घकालीनरूपमा पर्यटन क्षेत्रमा असर पर्छ। यस विषयमा सरकारी निकाय तथा पर्यटन व्यवसायीले ध्यान दिनु जरुरी देखिएको छ।

– रेणु क्षत्री, नारनटार, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्