वडाध्यक्षका लागि ७ दलको उम्मेदवारी

0
Shares

सरोज यादव, मोरङ। 

मोरङको धनपालथान गाउँपालिकामा रिक्त एक वडाध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका छन्। तामझाम, लावालस्कर र बाजासहित पुगेका उनीहरूले बुधबार उम्मेदवारी दर्ता गराएका हुन्। वडाध्यक्षको चुनावी प्रतिस्पर्धाका निम्ति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट पंकज मण्डलले मनोनयन दर्ता गराउनुभएको छ।

मण्डलको उम्मेदवारी दर्ता गराउनका लागि नेकपाका संघीय सांसद शिवकुमार मण्डलसहित प्रदेश र जिल्लाका नेताहरू मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। यसैगरी नेपाली कांग्रेसका तर्फबाट नारायणप्रसाद साहले उम्मेदवारी दर्ता गराउनुभएको छ।

साहलाई समाजवादी पार्टी नेपाललेसमेत समर्थन गरेको छ। साहको मनोनयन दर्ता गराउन कांग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बू र समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवसहित दुवै पार्टीका केन्द्रीय तथा जिल्लास्तरका नेताहरू पुगेका थिए।

सो क्रममा नेपाली कांग्रेसका जिल्ला सभापति लिम्बूले प्रजातान्त्रिक शक्तिहरू एकढिक्का हुनुपर्ने आवश्यकता महसुस गरी संयुक्तरूपमा साझा उम्मेदवारी खडा गरिएको प्रस्ट पार्नुभयो।

त्यस्तै समाजवादी पार्टीका जिल्ला अध्यक्ष यादवले देशमा बाम एकताले एक्लै लड्दा कमजोर हुने भएकाले सहमतिमा साझा उम्मेदवार खडा गरिएको बताउनुभयो। वडाध्यक्षको चुनावी प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका तर्फबाट ज्योती पासवान, नेपाल लोकतान्त्रिक पार्टीबाट देवनारायण मण्डल र मंगोल नेसनल अर्गनाइजेसनबाट मेघनाथ पासवान, सीके राउत नेतृत्वको जनमत पार्टीबाट चनरादेवी मण्डल र राष्ट्रिय जनता पार्टीबाट चन्द्रानन्द मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ।

तत्कालीन एमालेबाट विजयी वडाध्यक्ष बलराम मण्डल भगतको २०७५ वैशाखमा मृत्यु भएपछि सो पद रिक्त भएको थियो। धनपालथान गाउँपालिकाको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचनको कार्यालयमा उम्मेदवारी दर्ताको गरिएको हो।

उम्मेदवारी दर्ताका क्रममा पहिलो नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले उम्मेदवारी दर्ता गराएको थियो भने त्यसपछि क्रमशः नेपाली कांग्रेस, नेकपा, नेपाल लोकतान्त्रिक पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय जनता पार्टी र अन्तिम समयमा जनमत पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका थिए।

धनपालथान गाउँपालिका–२ मा ४ हजार ७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका निम्ति वडा नम्बर २ को कार्यालयमा दुई र जनता माविमा तीन मतदान केन्द्र राखिने बताइएको छ।

जनमत पार्टीले पनि खडा गर्यो उम्मेदवार

मधेसलाई अलग्गै देश बनाउने भन्दै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको सीके राउतको नेतृत्वको समूह पछिल्लो समय राजनीतिक मूलधारमा आएसँगै स्थापना भएको जनमत पार्टीले मोरङको धनपालथान गाउँपालिका हुन लागेको उपनिर्वाचनमा आफ्ना उम्मेदवार खडा गरेको छ।

सो गाउँपालिकामा रिक्त रहेको वडा नम्बर २ को वडाध्यक्ष पदका लागि जनमत पार्टीले स्थानीय ५० वर्षीया चनरादेवी मण्डललाई उम्मेदवारका रूपमा खडा गरेको छ।

मनोनयन दर्ताको अन्तिम समयमा जनमत पार्टीले धनपालथान गाउँपालिका कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो।

मण्डलको उम्मेदवारीको प्रस्तावकमा रधुनाथ साह र समर्थकमा भागोदेवी गनगाईं रहेका छन्। उम्मेदवारी दर्ताका क्रममा जनमत पार्टीका आधा दर्जन नेतासहितको समूह निर्वाचन कार्यालय पुगेको थियो।