जलवायु परिवर्तनसम्बन्धी वक्तृत्वकला प्रतियोगिता



नेपाल समाचारपत्र, गुल्मी । 

गुल्मीमा ‘जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभाव’सम्बन्धी जिल्लास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। रेसुङ्गा बहुमुखी क्याम्पस मानविकी संकायका विद्यार्थीको आयोजनामा जिल्लास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता राखिएको हो।

प्रतियोगितामा जिल्लाभरका ७ वटा विद्यालयका १४ जना विद्यार्थीको सहभागिता रहेको मानविकी संकाय अध्यक्ष विक्रम घिमिरेले बताउनुभयो। प्रतियोगितामा जलवायु परिर्वतनले वातावरणमा पारेको प्रभावबारेमा प्रस्तुति राखिएको थियो।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ८ हजार, ४ हजार र १ हजार पुरस्कारको व्यवस्था गरिएको थियो। कार्यक्रममा अर्जुन माध्यमिक विद्यालयका मनोज अर्याल प्रथम, महेन्द्र माध्यमिक विद्यालय तम्घासका मनिसा पौडेल द्वितीय, तृतीया रेसुङ्गा माध्यमिक विद्यालयका मोहन घर्ती तृतीया र रेम्बो बोडिङ बलेटक्सारका विपना थापा सान्त्वना हुनुभएको थियो।

प्रतियोगितामा छनोट भएका उत्कृष्ट प्रतियोगीलाई कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले नगद र सम्मान पत्रद्वारा सम्मान गर्नुभएको थियो। सोही कार्यक्रममा नेपाल भरका डक्टरमध्धे उत्कृष्ट डक्टर बनेका गुल्मी अस्पतालका डाक्टर उत्तक पच्चा, रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख शशी पन्थी, नेपाल भरका सामुदायिक विद्यालयबाट रेसुङ्गा माध्यमिक विद्यालयलाई दोस्रो बनाउन सफल प्रचार्य प्रेमनारायण भण्डारीलाई प्रमुख जिल्ला अधिकारी निरौलाले सम्मान गर्नुभएको थियो।

वक्तृत्वकला प्रतियोगिताको पुरस्कारको लागि समाजसेवी योगराज कँडेल र नन्दराम भुसाल, तोमलाल पन्थीले सौजन्य गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्रमुख जिल्ला अधिकारी निरौलाले पछिल्लो समय जलवायु परिर्वतनको प्रभाव नेपालमा पनि प्रभाव पारिरहेको बताउनुभयो। यसको प्रभाव रोक्न सबै पक्षले ध्यान दिन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ थियो।

कार्यक्रममा पूर्वक्याम्पस सञ्चालक समितिका अध्यक्ष शालिकराम पन्थी, क्याम्पस प्रमुख हरिबहादुर खत्री क्याम्पसका प्राध्यापक, विद्यार्थीको सहभागिता रहेको थियो। नेपालमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावबारे सबै पक्षलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मानविकी संकाय अध्यक्ष घिमिरेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्