नेपालसँगको ‘कनेक्टिभिटी’ बढाउन बंगलादेश इच्छुक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

पाँच दशक पुरानो कूटनीतिक सम्बन्धलाई अझ फराकिलो बनाउन बंगलादेशले नेपालसँगको ऊर्जा सहकार्य बढाउँदै स्थल, हवाई र जलमार्ग जोड्न इच्छुक भएको छ। नेपालको ऊर्जा क्षेत्रबाट अधिकतम लाभ लिँदै द्विपक्षीय व्यापार र लगानी बढाउन सो मुलुकले चासो देखाएको हो।

नेपालको पूर्वी सीमा काँकडभिट्टाबाट ३० किमिको दूरीमा रहेको सो मुलुकसँगको स्थलमार्ग भारत हुँदै जोडिने भएकाले व्यापारिक र अन्य सहकार्य प्रभावकारी बन्न सकेको छैन। बंगलादेशले नेपालका एक सय आठ वस्तुलाई भन्सार सहुलियत दिए पनि नेपालले छुटको सुविधा लिन नसकेको चर्चा हुँदै आएको छ।

नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँगको भेटवार्तामा यस्तो बताउनुभएको हो।

भौगोलिक रूपमा निकट रहेका दुई मुलुकबीचको व्यापार, पर्यटन, संस्कृति र परम्परालाई अझ निकट बनाउनेबारे उच्चस्तरीय भेटवार्तामा छलफल भएको छ। सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ र आसन्न नेपाल भ्रमण वर्ष सन् २०२० का नेपाली पक्षले हमिदलाई अवगत गराएको थियो।

जवाफमा राष्ट्रपति हमिदले नेपालको राष्ट्रिय आकांक्षामा आफ्नो मुलुकको साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिँदै संयुक्त राष्ट्रसंघ, सार्क, विमस्टेक, बीबीआइएनजस्ता अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय मञ्चको उपस्थितिलाई प्रभावकारी बनाउनेबारे पनि छलफल भएको बताइएको छ।

यस्तै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्दै आएका भिसा र सुरक्षा समस्या समाधान गर्नेबारे छलफल भएको छ। राष्ट्रपति हमिदले बुधबार पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।

नेपालको पूर्वी सीमा काँकडभिट्टाबाट ३० किमिको दूरीमा रहेको सो मुलुकसँगको स्थलमार्ग भारत हुँदै जोडिने भएकाले व्यापारिक र अन्य सहकार्य प्रभावकारी बन्न सकेको छैन। बंगलादेशले नेपालका एक सय आठ वस्तुलाई भन्सार सहुलियत दिए पनि नेपालले छुटको सुविधा लिन नसकेको चर्चा हुँदै आएको छ।

बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने र नेपालको ऊर्जा आफ्नो मुलुकले खरिद गर्ने गरी गत साउन २५ गते ऊर्जा सहकार्यको विषयमा मन्त्रीस्तरीय समझदारी भइसकेको छ।

यसका लागि प्राविधिक समिति पनि गठन भइसकेको छ। नेपालको चांरदिने औपचारिक भ्रमणका सिलसिलामा राष्ट्रपति हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार नेपाल आउनुभएको हो।

उहाँ आज बिहीबार पोखरा भ्रमणमा जाँदै हुनुहुन्छ। नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत पोखरा पुग्ने हमिदलाई विमानस्थलमा गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ र प्रदेश मन्त्रीले स्वागत गर्नेछन्। त्यसपश्चात राष्ट्रपतिको टोलीले लेकसाइडमा पैदलयात्रा र फेवातालमा नौका बिहार गर्नेछ।