सांसदहरुको अमेरिका देख्न नपाएको, ट्याक्सी भाडा नपाएको सम्मका गुनासा

जथाभावी बोल्ने सांसदलाई कारवाही हुन्छ त ?


न्युज अफ नेपाल, ललितपुर ।

मंगलबार कुपण्डोलस्थित एक होटलमा भएको कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी झन्डै ५० सांसदहरुको उपस्थिति थियो । सो कार्यक्रम एक अमेरिकी गैरसरकारी संस्था आइआरआई अर्थात इन्टरनेश्नल रिपब्लिकन इन्सिच्युट्सले गरेको थियो ।

आइआरआई कार्यक्रममा अमेरिकाको प्रतिनिधि सभा भर्जिनियाका पूर्व सांसद बब गुडलाटे, ३६ बर्षसम्म अमेरिकाको संसद सचिवालयमा काम गरेका पूर्वकर्मचारी ब्राड स्मिथ, काँग्रेसी अनुसन्धान सेवा, परराष्ट्र मामिला, रक्षा तथा व्यापार महाशाखा र परराष्ट्र नीति पूर्व विशेषज्ञ सुसन एप्सिटन, प्रतिनिधि स्कट नेमेथ लगायतको टोलीले अमेरिकी संसदको अनुभव सुनाएका थिए ।

उनीहरुले संसदको स्वरुप, काम गर्ने पद्धति, संसदले गर्ने अनुसन्धान प्रणालीबारे अनुभव र प्रस्तुतिकरण राखेपछि नेपालका सांसदहरुलाई त्यसबारे थप जिज्ञासा राख्न आग्रह गरेका थिए ।

सांसद राधेश्याम अधिकारीले अमेरिकी संसदमा गरिने अनुसन्धन प्रक्रियाको बारेमा जिज्ञासा राखेका थिए भने अन्य सांसदहरुले अमेरिकी संसदीय अभ्यास प्रक्रिया भन्दा पनि आफ्नै गुनासाका पोका फुकाए ।

कार्यक्रममा सहभागी धेरैजसो सांसदहरुले भने– ‘हामी गरीव छौँ, हामीसँग आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा जान समेत पैसा हुँदैन । हामीलाई त्यसका लागि सरकारले पैसा पनि दिँदैन । कुनै कार्यक्रमा जानुप¥यो भने ट्याक्सी खर्च पनि दिँदैन । यस्तो अवस्थामा हामीले जनताका काम कसरी काम गर्ने?‘

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले भनिन्– ‘तपाईँहरुसँग विज्ञ कर्मचारी हुन्छन्, हाम्रोमा त्यस्ता कर्मचारी पनि हुँदैनन् र काम गर्न खर्चको पनि व्यवस्था हुँदैन । हामी जिल्ला जाननै सक्दैनौँ, जिल्ला जानको लागि खर्च नै हुँदैन ।‘

त्यस्तै राष्ट्रियसभा सांसद माया ज्ञवालीले अमेरिका पनि देख्न नपाएको गुनासो गर्नुभयो । तपाईँहरुले सहयोग गर्नुभयो भने देख्ने मौका पाउनेछु ।

राजपा सांसद अमृता अग्रहरीले ठूला दलले देश र जनताको समस्या नहेरी मनपरी ढंगले काम गरिहेको भन्दै अमेरिकामा पनि त्यस्तो हुन्छ कि हुँदैन भनेर प्रश्न गरिन् । उनले संविधान र कानून कार्यान्वयन नगर्दा जनता निराश अवस्थामा रहेको बताउँदै भनिन्– ‘देशको संविधान एकातिर, देशको कानून एकातिर कार्यान्वयन पक्ष एकातिर भइरहेको छ, तपाईँको देशमा यस्तो छ भने जान्न चाहन्छौँ, यदी छैन भने त्यति टाढाबाट आएर हामीलाई एक्सरसाइज गरिरहनु भएको छ, भने जो यो देशको पावर चलाइरहेको छ उनीहरुलाई सल्लाह दिनुस् ।’

कार्यक्रममा नेपाली काँग्रेसका सांसद एवम् पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले आइआरआईले संसदमा अनुसन्धानको कामका लागि सहयोग गर्छ कि गर्दैन भनेर जिज्ञासा राखेका थिए । उनको जवाफका संस्थाका प्रतिनिधिले काठमाडौं विश्वविद्यायसँग मिलेर यससम्बन्धी काम गर्न लागेको जानकारी दिए ।

नेकपा सांसद धर्मशिला चापागाई भने सांसदहरुले अभिव्यक्त गरेको कुराले आफ्नै बेइज्जत भएको भन्दै चिन्ता व्यक्त गरिरहेकी थिइन् । उनले कार्यक्रममा उपस्थित केही पत्रकारहरुलाई यो विषय समाचारमा गयो भने हाम्रो आफ्नै वेइज्जत हुन्छ भन्दै समाचार नलेखिदिन आग्रह गरिरहेकी थिइन् ।

कार्यक्रममा सहभागी भएका ३ जना सांसद भने कार्यक्रम सुरु भएको केही समयपछि बाहिरिए । राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारी, रामनारायण विडारी र खगेन्द्र पुरी समितिको बैठकमा भाग लिन गएका थिए ।

सांसद रामनारायण विडारीले भने–‘संसदको कार्यक्रम छोडेर एनजीओको कार्यक्रममा सहभागी हुने चलन छैन । समितिमा इन्जिनियरिङ काउन्सिल विधेयकमाथि छलफल थियो, त्यसमा सहभागी हुन निस्कियौँ ।’

अमेरिकी गैरसरकारी संस्थाले गरेको अनुभव आदानप्रदान गर्ने अन्तर्क्रिया कार्यक्रममा सांसदहरुले आफ्नो सरकारले काम गर्न पैसा नदिएको, कानुन र संविधान कार्यान्वयन नगरेको, आफूले अमेरिका देख्न नपाएको जस्ता गुनासो पोख्न मिल्छ ? सांसदहरुले कस्तो कार्यक्रममा कसरी सहभागी हुने भन्ने बारेमा हेक्का नराख्दा यस्ता समस्या आउने गरेको राष्ट्रिय सभा अन्र्तगतको एक समितिका सभापति समेत रहेको सांसद रामनारायण विडारी बताउँछन् ।

सांसद बिडारीले आफू पनि सो कार्यक्रममा सहभागी भएपनि आफूले एक शब्द नबोली फर्किएको प्रतिक्रिया दिए ।

सांसदहरुले कहाँ के बोल्ने भन्ने छुट्टै आचारसंसहता नभएपनि राजनीतिक पार्टीको संसदीय दलको छुट्टाछुट्टै आचारसंहिता भएकाले सो अनुसार कारवाही हुने व्यवस्था छ । अझ विदेशी समक्ष संविधान र व्यवस्थाको विरुद्ध बोल्नु राज्य विरोधी काम हुन्छ ।

सांसद विडारीले सांसदहरुले विदेशी संस्थाको कार्यक्रममा आफ्ना आन्तरिक समस्या देखाउनुभन्दा पनि उनीहरुको बारेमा धेरै सोध्नुपर्ने बताए ।

त्यस्ता कार्यक्रममा गुनासो सुनाएर आफ्नै बेइज्जत गर्ने भन्दापनि सैद्धान्तिक कुरा गर्नुपर्ने उनको तर्क छ । ५० बढी सांसदहरु भएको कार्यक्रममा उनीहरुलाई सहजीकरण गर्न संसद सचिवालयका कुनै कर्मचारी नभएको भन्दै केही सांसद गुनासो समेत गर्दै थिए । कार्यक्रम आयोजक प्रतिनिधिलाई संघीय संसद सचिवालयले सोमबार रात्रीभोजको आयोजना समेत गरेको थियो