भारतविरुद्ध जनमोर्चाको प्रदर्शन : नेपाली भूमि फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी

0
Shares

विमल विष्ट, डोटी ।

भारतले सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्साप्रति डोटी जिल्लामा पनि विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पिपल्लामा आज कोणसभाको आयोजना गर्दै विरोध जनाएको हो । “लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा राखेर भारतले नेपालको अपमान गरेको छ,” कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटी कोषाध्यक्ष केशवनाथ योगीले भन्नुभयो, “यसको हामी घोर निन्दा र भत्सर्ना गर्दछौँ,हाम्रो भुमि फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने छौँ ।” भारतले नेपाली भूमिलाई अतिक्रमण गरेर पटक–पटक नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि हस्तक्षेपको प्रयत्न गरिरहेको उहाँले बताउनुभयो ।

भारतले जम्मु, कस्मिर र लद्दाखलाई केन्द्र सरकारको मातहतमा ल्याएसंगै केहीदिन अघि आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । जसमा नेपालको पश्चिमी सीमाना दार्चुलामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा देखाएपछि नेपालमा तीब्र आक्रोश उठिरहेको छ । जसको देशव्यापी बिरोध भईरहेको छ । त्यस्तै सम्पूर्ण डोटेलीहरुको तर्फबाट जिल्ला सदरमुकाम सिलगढीमा पनि भारत बिरुद्ध आज प्रदर्शन भएको छ । युवा बिद्यार्थीहरुको सहभागितामा भारतले गरेको हस्तक्षेपका बिरुद्धमा नाराबाजी गर्दै आफ्नो सिमाको सुरक्षा गर्न सरकारलाई खवरदारी समेत गरिएको युवाहरुले वताएका छन् ।