काङ्ग्रेस कम्युनिस्टलाई सच्याउन राप्रपालाई भोटः कमल थापा


न्युज अफ नेपाल, पोखरा।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस कम्युनिस्टहरु गलत बाटोमा भएको हुँदा सच्याउनको निमित्त उपनिर्बाचनमा जनताले राप्रपालाई छनौट गर्नु पर्ने बताएका छन् ।

ठुला–ठुला भ्रस्टाचारको काण्डमा ठुला दलहरुको संलग्नता भएको भन्दै थापाले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भएको बताए ।

एनसेल कर छुट, ३३ क्विन्टल सुन काण्ड, वाईडबढी हवाईजहाज काण्डमा ठुला दल र नेताहरुको संलग्नता रहेको चर्चा गर्दै थापाले बिदेशी हस्तक्षेप र प्रभाब रोक्न राष्ट्रबादी शक्ति बलियो हुनुपर्ने आबश्यकता औल्याए ।

परिबर्तनको नाममा हामिले धर्म, संस्कृति कमजोर बनायौ, आत्मसमर्पणबादी मानसिकताको बिकास गर्यौ भन्दै यो प्रवृत्तिको अन्त्य जरुरि भएको बताए ।

कास्की–२ को चुनाबी अभियानमा सहभागी हुँदै थापाले कास्किको निर्बाचन परिणामले सरकार ढल्ने वा काङ्ग्रेस बढ्ने अबस्था नभएकोले परिबर्तनको सन्देश दिन राप्रपालाई जिताउन आग्रह गरे ।

काङ्ग्रेस कम्युनिस्टलाई जितायौ भने मनपरितन्त्र, ब्रम्हलुट, बिकृतिको नै मनोबल बढ्ने हुदा अराजक प्रवृत्तिको अन्त्यको लागि राप्रपालाई मतदान दिन थापाले आग्रह गरे ।

थापाले आज कास्की-२ को तीन स्थानमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गरेका थिए । ३३ नम्बर वडा बागमारा बजार, २१ नम्बर बडा कृस्ती र पोखरा पुरानो बसपार्क ९ नम्बर वडामा आयोजित सभालाई थापाले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष तोरण गुरुङ, प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ, उम्मेदवार रोम बहादुर भण्डारी र चुनावि अभियानका संयोजक जयलाल पुन लगायतले बोलेका थिए ।