नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन

0
Shares

काठमाडौं, (नेस)।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुराको महाकाली नदीलाई सीमा मानेर नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ। समितिको सोमबार बसेको बैठकले सीमा सुरक्षा मजबुत बनाउनेदेखि जथाभावी प्रयोग भएका अन्तर्राष्ट्रिय सीमासम्बन्धी नक्सामा एकरूपता ल्याउन निर्देशन दिएको हो।

भारत सरकारले केही दिनअघि प्रकाशित गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतको क्षेत्र भारतभित्र पारेर प्रकाशित गरेको विषयमा समितिले छलफल गरेको थियो।

‘सरकारले कूटनीतिक र राजनीतिक माध्यमबाट सीमासम्बन्धी विवाद हल गर्न निर्देशन दिएको छ। साथै, सीमा सुरक्षाको सवालमा पनि विशेष ध्यान पुर्याउन जरुरी छ।’ –सभापति शशी श्रेष्ठले दिनुभयो।

समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको भए पनि स्वास्थ्य समस्याकारण उपस्थित हुन नसक्नुभएको सभापति श्रेष्ठले बताउनुभयो। प्रधानमन्त्रीका तर्फबाट भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारको धारणा राख्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग रहेको विषयमा सरकार ढुक्क रहेको बताउनुभएको थियो।

गृहमन्त्री रामबहादुर थापा बादलले विवादित क्षेत्रमा नेपालको सुरक्षा बल अपुग भएकाले सीमा सुरक्षा बढाउने सरकारको रणनीतिक तयारी रहेको जानकारी दिनुभयो। उक्त बैठकमा पनि उपस्थित नेकपाका अध्यक्षसमेत रहनुभएका यसै समितिका सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा मुद्दालाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्नुभन्दा कूटनीतिक माध्यमबाट पहल गर्न सुझाव दिनुभएका थियो।