अनशन तोड्न डा. केसीलाई आग्रह

0
Shares

काठमाडौं, (नेस)।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई आमरण अनशन तोड्न आग्रह गर्नुभएको छ। सिंगो देश कालापानीका विषयमा एक भइरहेका बेला अनशन जारी राख्नु गलत भएको बताउँदै फिर्ता लिन आग्रह गर्नुभएको छ। डडेल्धुरामा १७आंै अनशन बसिरहनुभएका डा. केसीको सबै माग पूरा भइसकेको उहाँले स्पष्ट पार्नुभयो।

उहाँले डा. केसीको माग शिक्षा मन्त्रालयसँग मात्रै सम्बन्धित नभएको बताउनुभयो। ‘म विदेश जाँदै छु, डा. केसीको अनशन र उहाँको स्वास्थ्य अवस्थाको बारेमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई जानकारी गराइसकेको छु, उहाँले यस विषयमा थप कदम चाल्नुहोला।’ –मन्त्री पोखरेलले भन्नुभयो। उहाँले अधिकांश मुद्दा टुंगो लागिसकेको विषयमा अनशन बस्नु गलत भएको उल्लेख गर्नुभयो।

उहाँले डा. केसीको स्वास्थ्यको विषयमा सरकार गम्भीर रहेको जानकारी दिनुभयो। ‘अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा भइसकेको अवस्थामा अनशनरत डा. केसीले सरकारलाई सहयोग गर्नुको विकल्प छैन।’ –उहाँको भनाइ थियो। यसैबीच मन्त्री पोख्रेलले मन्त्रिपरिषद् फेरबदल हुने कुरा हल्ला मात्रै रहेको बताउनुभयो।