मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिने अल्टिमेटम्

0
Shares

न्युज अफ नेपाल , काठमाडौं ।

शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयले चिकित्सा शास्त्र अध्ययनका लागि विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क १५ दिन भित्र फिर्ता गर्न अथवा शूल्कमा समायोजन गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयबाट सो बिषयमा गृह मन्त्रालयलाई समेत पत्राचार गरिसकिएको छ । बिश्वबिद्यालयका उपकुलपति, डिन लगायतसंग आईतबार नै शुल्क समायोजनको बिषयमा छलफल समेत गरिएको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणी पोख्रेलले जानकारी दिनुभयो ।

उहाँले सबै बिद्यार्थि तथा अभिभावकलाई शुल्क फिर्ता सम्बन्धी उजुरी दिन समेत आह्वान गर्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय चिकित्सा शिक्षा आयोगले संयुक्त विज्ञप्ति जारी गरी सरकारले तोकेको शुल्क लिन र विगतमा गरेको सम्झौता अनुसार बढी उठाइएको शुल्क फिर्ता गर्न निर्देशन दिएका हुन् ।

सरकारले काठमाडौँ उपत्यकाभित्र एमबीबीएसका लागि गत वर्ष ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो । तर मेडिकल कलेजहरुले यो भन्दा बढी शुल्क लिएका थिए ।

विगत लामो समयदेखि शुल्क फिर्ताको माग लिएर वीरगञ्जको नेशनल मेडिकल कलेज, भैरहवाको युनिभर्सल, चितवनको चितवन मेडिकल कलेज र पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको अवज्ञा गर्दै कलेजहरुले शुल्क फिर्ता गरेका छैनन् ।

सोही कारण विगतको निर्णय र मन्त्रालयको निर्देशन अवज्ञा भए कानुनी कारबाही अगाडि बढाइने उल्लेख गर्दै मन्त्रालय र आयोगले मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न निर्देशन दिएको हो ।