पप्पु कन्ट्रक्सनको अर्को वदमाशी, पुल निमार्ण अलपत्र छाडेर बेपत्ता


रोशनी भट्टराइ, मोरङ ।

मडिया वक्राहा खोलामा पुल निर्माणको ठेक्का लिएको ‘पप्पु कन्ट्रक्सन‘ निर्माण कार्य बीचैमा छाडेर वेपत्ता भएको छ ।

मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर १ मा पर्ने मडिया वक्राहा खोलामा निर्माणको निर्धारित मिति पूरा भएको डेढ वर्ष भइसक्दा समेत पुलको २ तर्फको पिलर बाहेकको काम अघि बढ्न सकेको छैन ।

ठेक्का लागे अनुसार २०७५ सालको असार महिनामै पुल बनिसक्नु पर्ने भएपनि ठेकेदार कम्पनी २ वटा पिलर बनाएर वेपत्ता भएको छ । तत्कालीन समयमा ३ करोडमा ठेक्का पारेको पप्पु कन्ट्रक्सनले निलगिरी कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको सुनवर्सी १, अमरदहका वडाध्यक्ष टेकबहादुर भट्टराईले बताए ।

सुख्या याममा समेत नसुक्ने मडीया वक्रा खोला वर्षा याममा तर्न नसक्ने गरि उर्लन्छ । खोला तर्न बनाइएको भाटाको पुल वर्षेनी बगाउँछ । सुख्खा याममा खोलामा ह्युमपाइएप लगाएर काम चलाउने गरेपनि वर्खा याममा समस्या हुने गरेको छ ।

ढिलै भएपनि पुल बनेपछि सहज होला भनेर खुशी भएका स्थानीयबासी ५ वर्ष वित्न लाग्दा पनि पिल्लर मात्र ठडिएपछि निराश भएका छन् । वर्खामा पानीले खोला तर्न हैरान बनाउछ ।

ठेक्का लागेपछि सहज हुने आश गरेपनि आशा निराशामा परिणत भयो स्थानीय सुनवर्सी–३ का भोला पौडेलले भने, ‘विकास निमार्णमा भएका यस्ता बेथिती कहिले हट्ने होलान ।’

निकै लामो समयदेखि पुल अलपत्र परेको विषयमा पछिल्लो पटक ठेकेदार कम्पनीसँग सम्पर्क गर्दा छठ पछाडीदेखि काम अघि बढाउने बताएको वडाध्यक्ष टेकबहादुर भट्टराईको भनाइ छ ।

ठेकेदारले, रकम निकासा र प्राविधिक कुराका कारण काम रोएिकाले अब चाँडै काम सुरु गर्ने बताएको उनले जानकारी दिए ।

ठेकेदारले, छठ पछाडीदेखि काम अघि बढाउने बताएपनि छठ सकिएको एकसाता वितिसक्दा पनि काम सुरु गर्ने अत्तोपत्तो छैन ।

देशका अन्य भागमा समेत ठूला ठूला ठेक्का पारेपनि समयमै काम नगरेको तथा गुणस्तरीय काम नगरेका कारण कालो सूचीमा परेको पप्पु कन्ट्रक्सनले मोरङमा पनि बदमासी गरेको स्थानीयले बताएका छन ।