मध्य पर्वतको ‘लाईफलाईन’ सडक कालोपत्रे सुरु


दुर्गाप्रसाद शमा, पर्वत ।

पर्वत जिल्लाको मध्य भागका लागि ‘लाईफलाइन’ मानिएको लुंखु–हुवास सडक कालोपत्रे गर्न सुरु गरिएको छ । पर्वतको सदरमुकाम कुस्माबजार दक्षिणमा पर्ने पैयुँ गाउँपालिकाको केन्द्र हुवास सम्म जोड्ने सडक १४ दशमलब ९८ किलोमिटर सडक कालोपत्रे गर्न शुरु गरिएको छ ।

ग्रामिण सडक सञ्जाल सुधार आयोजनाले ३६ करोड ९६ लाख ९३ हजारको लागतमा लुंखु हुवास सडक कालोपत्रे गर्न थालेको हो । गृह जिल्लाको महत्वपुर्ण मानिने सडक कालोपत्रे गर्ने कार्यको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलन्यास गर्नुभएको छ ।

पर्वतको सदुमुकाम कुस्माबाट फलेबास सम्मको अधिकाँश सडक कालोपत्रे भैसकेको छ भने फलेबास देखि लुंखु सम्मको सडक पनि कालोपत्रेका लागि काम भैरहेकोछ ।

कुश्मादेखि फलेवास सम्मको ६ दशमलब ७ किमी सडक कालोपत्रे भइसकेको छ । साथै लमायखोलादेखि लुंखुसम्मको १३ किलो मिटर सडक कालोपत्रे गर्ने काम पनि ग्रामिण सडक सञ्जाल सुधार आयोजनाले नै काम गरिरहेको छ ।

लुंखु–देउरालीदेखि हुवास सडक खण्डमा पनि कालोपत्रे हुने भएपछि कुश्मादेखि दक्षिण पर्वतको हुवासलाई कालोपत्रे सडकले जोड्ने महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो । ‘कुस्मा देखि हुवास सम्म सडक कालोपत्रे गरिएपछि मध्य पर्वतको बिकासले मुहार फेर्छ’ उहाँले भन्नुभयो ‘समयमा काम सक्ने र काम गर्ने वातावरण बनाउँछौ ।

लुंखु – सडक साढे दुई वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २०७८ कात्तिक १४ गते सम्म सडकको सम्झौता अवधि रहेको छ । सडक निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रालिले पाएको छ ।

यो सडक कालोपत्रे भएपछि पर्वतको सुदुर दक्षिण पर्वतको हुवास लाई कालोपत्रे सडकले जोड्ने छ । विगतमा कालापानी भनेर चिनिने जिल्लाको पैंयु र विहादी गाउँपालिका सम्म कालोपत्रे सडकमा यात्रा गर्न सकिनेछ ।

अहिले सम्म हुवास लगायतका क्षेत्रबाट स्थानियबासीहरु सदरमुकाम कुस्मा आउनका लागि हिउँदमा कच्चीबाटोबाट सोझै आउँछन तर बर्षा यामका चार महिना भने स्याङ्गजाको वालिङ्ग हुँदै पोखरा पुगेर तीन जिल्ला तथा एकदिन लगाउनुपर्ने बाध्यता छ ।

‘एक दिनको काम सक्न तीन दिन र तीन जिल्ला पुगेर फर्कनुपर्ने जनताको समस्या सडक निर्माण संगै सधैका लागि समाप्त हुनेछ’ शिलन्यास कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ‘हाम्रो कार्यकालभित्रै पर्वतका सबै मुख्य सडक कालोपत्रे गरेर सहज यातयातको ब्यबस्था मिलाउनेछौ’ ।

पर्वतमा यो बर्ष संघ र प्रदेशका गरि ५१ वटा सडक सुधारका योजनाहरु सञ्चालनमा छन । स्थानिय तहका सडक सुधारका आयोजना समेत गर्दा झण्डै सय योजना पुग्छन ।