अख्तियारमा दार्चुलाका ३ सय १४ उजुरी

0
Shares

किरन धामी, दार्चुला ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा स्थापना भए देखी दार्चुला जिल्लाबाट ३ सय १४ थान उजुरी दर्ता भएको कार्यालयका सहसचिव गोपाल प्रसाद रिजालले बताउनु भएको छ । आयोगको कार्यालय कञ्चनपुरले दार्चुला जिल्लामा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उहाले आयोगको कार्यालय स्थापना भए देखी दार्चुला जिल्लाबाट ३ सय १४ थान उजुरी दर्ता भएको बताउनु भएको हो ।

आयोगको कार्यालय कञ्चनपुरमा दार्चुला जिल्लाबाट आर्थिक वर्ष २०७० र ७१ मा ४५ उजुरी दर्ता भएकोमा ६ थान उजुरी फछर्यौट भएका छन् । आर्थिक वर्ष २०७१ र ७२ मा ८१ थान उजुरी दर्ता भएका थिए भने सोही संख्यामा फछर्यौट गरिएको उहाले बताउनुभयो ।

आर्थिक वर्ष २०७२ र ७३ मा ५२ थान दर्ता भएकोमा ६४ थान उजुरी फछर्यौट भएका छन, भने आर्थिक वर्ष २०७३ र ७४ मा ३२ थान दर्ता भएकोमा ३७ थान उजुरी फछर्यौट गरिएको कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७४ र ७५ मा २६ थान दर्ता भएकोमा १९ थान, आ.व. २०७५ र ७६ मा ४६ दर्ता भएकोमा ३१ तथा आर्थिक वर्ष २०७६ र ७७ मा ३२ दर्ता भएकोमा १२ थान उजुरी फछर्यौट गरिएको उहाले बताउनुभयो । दार्चुला जिल्लाबाट दर्ता भएका कुल ३ सय १४ उजुरी मध्ये हाल सम्म २५० थान उजुरी फछर्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सहसचिव गोपाल प्रसाद रिजालले बताउनुभयो । दर्ता भएका कुल उजुरी मध्ये ६४ थान उजुरी फछर्यौट गर्न बाकी रहेको समेत उहाले बताउनुभयो । जिल्लाबाट दर्ता भएका उजुरीको ८० प्रतिशत उजुरी फछर्यौट गरिसकेको उहाले जानकारी गराउनु भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा हाल सम्म दर्ता भएका कुल दर्ता भएका ५१८४ थान उजुरी मध्ये ४३२७ थान उजुरी फछर्यौट गरेको तथा ८ सय ५७ थान उजुरी फछर्यौट गर्न बाकी रहेको उहाले बताउनुभयो । कार्यालयमा बेनामी उजुरीको संख्या २०३, ब्यक्तीको नामका उजुरी १ सय ४३, संस्थाबाट १७ र पत्रपत्रिकाबाट २२ थान उजुरी दर्ता भएका छन् ।

कार्यालयमा उपभोक्ता समिति गठनमा आफ्नो मान्छे राख्ने गरेको, पूर्वाधार निर्माणमा गुणस्तर कायम नभएको, निर्माण तथा खरिद कार्य गराउँदा प्रतिष्पर्धा नगराएको, स्थानीय दररेट निर्धारणमा चलखेल, सामान खरिदमा परिमाण, गुणस्तर र मुल्यमा अनियमितता गरेको तथा कर्मचारी शिक्षक भर्ना छनौट र सार्वजनिक खरिदमा नातावाद, कृपावाद हावी भएको उल्लेख गरेर उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।