पुर्व राज्यमन्त्रीलाई संचारमन्त्रीको चेतावनी : तपाईको घरको छतमा राख्ने हो फोहोर ?


मोतीराम तिमल्सिना, काभ्रे । 

बनेपा नगरपालिकाको उपप्रमुख भई सांसद हुँदै राज्यमन्त्री समेत भएका बनेपा नगरपालिकाका स्थायी बासिन्दा कञ्चनचन्द्र बादे श्रेष्ठले बनेपा नगरपालिकाले गर्न लागेको फोहोर ब्यवस्थापनमा पार्टीको निर्णय भन्दै अवरोध पुर्‍याए पछि प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित संचारमन्त्री गोकुल बास्कोटाले फोहोरमा राजनीति नगर्न चेतावनी दिनु भएको छ ।

बनेपा नगरपालिकाले डब्लुएचओले प्रमाणीत गरेको प्रर्दुषण रहित वातावरण मैत्री जापानिज मेशिन मार्फत फोहोर जलाउने तयारी गरेपछि नेपाली कांग्रेस बनेपा नगर समितिले अवरोध शुरु गरेको छ । नगरपालिकाले आफ्नै स्वामित्वको जग्गामा मेशिन राखी फोहोर जलाउने ब्यवस्थापन गर्ने तयारीका लागि जग्गा सम्याउन डोजर लैजाने क्रममा नेपाली कांग्रेसको अगुवाईमा पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादेको निर्देशनमा डोजर माथी तोडफोड गरी १ लाख २९ हजार रुपैयाको क्षति गराएका थिए । लगातार नेपाली कांग्रेसले उक्त स्थानमा फोहोर जलाउन नदिने घोषणा गर्दै र्‍याली समेत गर्दै आएको छ । डोजर तोडफोडको अभियोगमा नेपाली कांग्रेसकै नेता डम्बरबहादुर घिसिङ्ग पक्राउ परेका छन् ।

मन्त्री बास्कोटाले बनेपा नगरपालिका वडा नम्वर ४ को भवन शिल्यान्यास पछि आयोजित कार्यक्रममा बोल्दै पुर्व राज्यमन्त्री समेत रहेका बादेलाई फोहोर ब्यवस्थापनमा अवरोध नगर्न चेतावनी दिनु भएको हो । ‘फोहोर बनेपा चारदोवाटोमा लगेर जलाउने ? कहाँ लगेर ब्यवस्थापन गर्ने ? पुर्व मन्त्री, पुर्व उपमेयर कञ्चनचन्द्र बादेको छतमा राख्ने ? तपाईको घरको फोहोर कहाँ राख्नु भएको छ ? तपाईको घरको छतमा फोहोर राख्नु हुन्छ ? यस्तो विषयमा राजनीति नगर्नुुस मेरो चेतावनी छ’–मन्त्री बास्काटाले भन्नु भयो– ‘यस्ता कुरामा जनता नउचाल्नुस । जनतालाई दुख हुन्छ भने विचार गर्नु पर्छ । साच्चै जनतालाई मर्का पर्छ भने त्यो कुराको सम्बोधन गर्नु पर्छ । तर राजनीतिक मुद्दा बनाएर विकासको प्रकृयालाई अवरोध गर्ने र फोहोरको डंगुर सडकमा राखेर जनस्वास्थ्य माथी खेलवाड गर्ने काम बन्द गर्नुस ।’

मन्त्री बास्काटोले भन्नु भयो– ‘बनेपामा हिड्दा तपाईलाई लाज लाग्दैन ? तीन पल्ट नगरपालिका चलाएको पार्टीको यस्तो बुद्दी ? हामी त पहिलो पटक जितेका हौ । गर्न खोज्दै छौं गर्न दिनुस त्यसमै राम्रो हुन्छ । हामीलाई काम गर्न नदिएर अर्काे पटक चुनाव जितौला भनेर पासो थापेको हो भने त्यो पासोमा नेपाली कांग्रेस नै पर्छ । म दावाका साथ भन्छु कुनै नेकपा पर्ने छैन । विकासमा राजनीति नगर्नुस् । काम गरौं ।’ ‘आफ्नो पालामा निदाएर बस्ने अनि अहिले कोकोहोलो गर्ने ? २२ वर्षमा के गर्नु भयो ? आफ्नो जग्गा १ इन्च नदिने ?

नगरपालिकाको उपप्रमुख भएको मान्छेले चारदोबाटोको बीचमा घर बनाएर बसेर नगरपालिकासँग क्षतिपुर्ति लिन निहुँ खोजेर बस्ने ? यहि संस्कारले अरुलाई सरापेर कांग्रेस उभो लाग्छ ?’–मन्त्री बास्कोटाले भन्नु भयो–‘२००७ साल, २०१५ सालका चेत भएका जनता होईनन् । जनतामा अहिले चेतना छ । नेता भन्दा जनता तीन गुणा बाठा छन् । उल्टो बाटो नहिड्नुस । पाईलाले टेकेर हिड्ने काम शुरु भएको छ टाउकोले टेकेर हिड्न सकिदैन । जर्बजस्ति नगर्नुस । कञ्चनजीको टोलमा कि आँगनमा ? कहाँ राख्ने फोहोर ।’

‘आफु राज्यमन्त्री हुँदा गर्नु भएको भए हुन्थ्यो नि ? के गर्नु भयो ? हामीले धमाधम काम गर्न शुरु गरेका छौं । अलिअलि काम गर्नु भयो होला धन्यवाद । तर अधिकांश समय खेर फाल्नु भयो । हामी समय खेर फाल्न चाहँदैनौं । देशलाई, समयलाई सरापेर, समाजलाई भाँडेर बहादुरीको कथा नराचौं । सांसद, मन्त्री भईसकेको मान्छेले बखेडा झिकेर पासो नथापौं । यस्तै गर्नुुस अर्काे पटक चारतारेलाई फर्केर पनि जनताले हेर्ने छैनन । विरोधको स्वर चर्काे नबनाउनुस् फोहोर मैला ब्यवस्थापन गर्नु पर्छ’–मन्त्री बास्कोटाले भन्नु भयो ।