बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै


काठमाडौं, (नेस) ।
बंगलादेशका राष्ट्रपति मोहम्द अब्दुल हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आउँदै हुुनुहुन्छ। नेपालसँगको कनेक्टिभिटी, ऊर्जा, द्विपक्षीय व्यापार र लगानी बढाउन हमिदको भ्रमण केन्द्रित हुनेछ।

उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा नेपाल आउने तयारीमा जुट्नुभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। ‘बंगलादेशका राष्ट्रपति कार्यकारी हैसियतमा नरहे पनि नेपालसँगको व्यापार, ऊर्जा र अन्य सहकार्यका लागि भ्रमण महत्वपूर्ण हुनेछ।’ –मन्त्रालयका एक अधिकारीले भने।

बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने र आफ्नो मुलुकले यहाँको ऊर्जा खरिद गर्ने गरी दुवै मुलुकबीच गत साउन २५ गते मन्त्रीस्तरीय ऊर्जा सम्झौता भइसकेको छ। बंगलादेश, भुटान, भारत र नेपाल आबद्ध ‘बीबीआइन मोटर भेइकल एग्रिमेन्ट’ कार्यान्वयन गर्ने वातावरण बनाउन राष्ट्रपति हमिदको भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। सडक सञ्जाल र जनस्तरको सम्बन्धलाई अझ नजिस्क्याउन सार्क राष्ट्रका चार मुलुकबीच चार वर्षअघि भुटानमा त्यस्तो सहमति भएको थियो।

नेपाल भ्रमणका क्रममा हमिदले काठमाडौं उपत्यकाका पुरातात्विक र सांस्कृतिक स्थलसहित पोखराको समेत भ्रमण गर्ने बताइएको छ। उहाँले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ।