अयोध्या जग्गा विवाद फैसला: नेपालगन्ज नाका सिल, हजारौं अलपत्र


कुमार श्रेष्ठ, बाँके ।
अयोध्याको राम मन्दिर र बाबरी मस्जिदको जग्गा विवादको फैसलालाई मध्यनजर गर्दै भारतीय पक्षले एक्कासि नेपालगन्ज नाका सिल गरेको छ।

शनिबार बिहानैदेखि पश्चिमको प्रमुख मानिने नेपालगन्ज नाका बन्द गरिएपछि हजारौं मानिस अलपत्र परेका छन्।

नेपाली पक्षलाई बिनासूचना एक्कासि नाका बन्द गरेपछि केहीबेर खैलाबैला मच्चिएको थियो। पछि भारतीय प्रहरीहरू आएर नाकामा रहेको नेपाली प्रहरीलाई अयोध्याको विवादास्पदको जग्गाको फैसला हुन थालेकाले नाका सिल गरिएको जानकारी दिएका थिए। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतले औपचारिक जानकारीबिना नै एकतर्फी नाका बन्द गरेको बताउनुभयो।

‘अयोध्याको जग्गा विवादको फैसला रहेकाले सुरक्षालाई दृष्टिगत गरेर नाका बन्द गरिएको रहेछ’, प्रजिअ खड्काले भन्नुभयो–‘भारतीय अधिकारीहरुले यस विषयमा औपचारिक जानकारी दिएनन्।’

नेपालगन्ज नाका सिल हुँदा रोजगारीका लागि भारत जान थालेका कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरु मर्कामा परेका छन्। दशैं, तिहार मनाएर पुनः कामका लागि भारत जाँदै गरेका पहाडी जिल्लाका मानिसहरु दिनभरी नाकामा बसेर नेपालगञ्ज फर्किएका छन्। भारतले कहिले नाकामा खोल्छ भन्ने नेपाली अधिकारीलाई समेत जानकारी नदिइएकाले कामका लागि भारत जान थालेका मानिसहरु ‘कति दिन बस्नुपर्ने हो’ भन्ने चिन्तामा परेका छन्।

दैलेखका यामबहादुर विकलगायतको टोली दिनभरि नाकामा बसेर फर्किएका छन्। साँझसम्म नाका खुला नभएपछि उनीहरु बास बस्न नेपालगन्ज फर्किएका छन्।

यतिबेला कामका लागि भारत जानेको चाप रहेको छ। दशैं र तिहार मनाउन फर्किएकाहरु पुनः काममा जाने तरखरमा रहेका छन्। पहाडी जिल्ला दैलेख, जाजरकोट, कालिकोट, सुर्खेत, रुकुम, रोल्पा, सल्यानका मानिसहरु मौसमी कामका लागि भारतको सिमला, चण्डीगढ, कालापहाड, प्रयागलगायतका ठाउँमा काम गर्न जाने गर्दछन्।

आफ्नै उत्पादनले खान नपुग्ने पहाडी जिल्लाका मानिसहरु एक्लै या सपरिवार भारतीय शहरमा मजदुरी गर्न पुग्छन्। उनीहरु बन्द खुल्छ कि भनेर नाकामा रहेको जमुनाहामा दिनभरि बसे पनि साँझसम्म नखुलेपछि निराश भएर नेपालगन्ज फर्किएका हुन्।

एक्कासि नाका सिल हुँदा किनमेलका लागि भारत जानेहरु पनि प्रभावित भएका छन्। भारतबाट समेत कुनै सवारीसाधन नभएकाले राजस्वमा असर परेको छ। नेपालगन्ज नाकाबाट जाने ठूलो संख्याका नेपालीले गर्दा रूपैडिहामा मात्रै दैनिक ५ करोडको कारोबार हुने गर्दछ।

भारतीय सुरक्षा अधिकारीले शनिबार दिनभरि नेपालतर्फबाट एम्बुलेन्स मात्रै जान दिएको थियो। नेपालगन्जलगायत यस क्षेत्रबाट गम्भीर प्रकारका बिरामीको उपचार गर्ने थलो भारतको लखनउ भएकाले भारतीय अधिकारीले एम्बुलेन्ससम्म जान दिएको थियो। भारतबाट नेपालतर्फ आउनेलाई आउन दिइएको थियो। ‘एकछिनमा नाका खुलिहाल्छ कि’ भन्ने आशामा धेरै नेपालीहरु नाकामा रोकिएका थिए। जसको कारणले गर्दा नाकामा भीड लागेको थियो।

४० दिनको सुनुवाइपछि अयोध्याको विवादास्पद जग्गा राम मन्दिर बनाउन दिने भारतीय सर्वोच्च अदालतले फैसला गरेको छ। सर्वोच्चले मस्जिद बनाउनका लागि अर्को ठाउँमा जग्गा दिने निर्णय सुनाएको छ। लामो समयदेखिको चर्को विवाद रहेको जग्गा विवादको फैसला हुँदा आन्दोलन हुन सक्ने सक्नेतर्फ सचेत रहँदै भारतीय प्रहरीले नेपालगन्ज नाका बन्द गरेको थियो। फैसलालाई साँझसम्म त्यस्तो कुनै प्रतिक्रिया नदेखिएकाले नाका रातितिर खुल्न सक्ने आँकलन गरिएको छ।