डा. केसीको पक्षमा सिठी जुलुस प्रदर्शन


डडेल्धुरा, (नेस) ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले गत सोमबारदेखि शुरू गरेको १७औं चरणको अनशन छैटौं दिन डडेल्धुराबासीहरूले सदरमुकाममा बृहत् सिठी जुलुस प्रदर्शन गरेका छन्।

नागरिक समाज डडेल्धुरा र जिल्लास्थित पेसाकर्मी एवं व्यावसायिक संघसंस्थाहरूको अगुवाइमा सदरमुकामस्थित बसपार्कबाट शनिबार दिउँसो निकालिएको सिठी जुलुस तुफानडाँडा चोकमा पुगेर कोणसभामा परिणत भएको हो।

कोणसभालाई नागरिक अगुवा तेजबहादुर ऐर, कैलालीका नागरिक अभियन्ता प्रमोद पाठक, डा. केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउन काठमाडौंबाट डडेल्धुरा पुगेका एचआईभी संक्रमित अभियन्ता राजीव काफ्ले र डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले सम्बोधन गरेका थिए।

कोणसभामा बोल्दै डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष भट्टले सरकारले डा. केसीको आन्दोलनलाई बेवास्ता गरिरहेको बताउँदै तत्काल माग सम्बोधन नगरिएमा अझ कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने चेतावनी दिनुभयो।

सिटी जुलुसमा सहभागीहरुले सत्याग्रहमा रहेका डा. केसीलाई राखिएको डडेल्धुरा अस्पताल पुगेर नाराबाजी र प्रदर्शनसमेत गरेका छन्।

शुक्रबार मात्रै व्यावसायिक तथा पेसागत संघ संस्थाहरुले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका थिए। बिहीबारदेखि डडेल्धुरा सदरमुकाममा डा. केसीको समर्थनमा दिनहँु प्रदर्शन भइरहेको छ।