प्रमको ‘किचन क्याबिनेट’ फेरिने


काठमाडौं, (नेस) ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरूको कार्यशैली र कार्यसम्पादन सन्तोषजनक नभएको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सचिवालय सदस्य हेरफेर गर्ने तयारी गर्नुभएको छ।

सल्लाहकार र सचिवालय सदस्यसँग असन्तुष्ट रहनुभएका ओलीले सबैलाई राजीनामा गर्न सुझाउँदै सचिवालय हेरफेर गर्ने तयारी गर्नुभएको हो।

मंसिर पहिलो सातादेखि लागू हुनेगरी सल्लाहकार र सचिवालय सदस्य हेरफेर गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

जिम्मेवारी हेरफेर हुने भएसँगै सबै सल्लाहकारले राजीनामा दिने तयारीमा रहेका बताइएको छ।

प्रधानन्त्रीका मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल, परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी र स्वकीय सचिवमा इन्द्र भण्डारी रहनुभएको छ।

सल्लाहकार परिवर्तन गर्न प्रधानमन्त्री ओलीले केही दिनयता आफू निकटका नेताबाट रायसुझाव लिइरहनुभएको बालुवाटार निकट स्रोतले जनाएको छ।