ज्योति समूहका अन्य सञ्चालक शंकाको घेरामा


नेपाल समाचारपत्र, काठमाडौं ।
ठगीको आरोपमा उद्योगी डा. रूपज्योति पक्राउ परेपछि ज्योति समूहका अन्य सदस्यहरू पनि पक्राउ पर्न सक्ने सम्भावना बढेको छ।

उनलाई छोरीसँगै बिहीबार साँझ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। जग्गा खरिद प्रकरणमा ठगीको आरोप लागेका डा. रूपज्योति सञ्चालक रहेको ल्यान्डमार्क डेभलपर्स कम्पनीमा उनीबाहेक दाजु पद्मम ज्योति, छोराहरू सौरभ ज्योति, अभिक ज्योति, सहृदय ज्योतिलगायतका परिवारका सदस्यहरू पनि सञ्चालक रहेको हँुदा ठगी प्रकरणमा उनीहरूसमेत तानिन सक्ने स्रोतले नेपाल समाचारपत्रलाई बताएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले भने आइतबार यसबारे आधिकारिक धारणा सार्वजनिक गर्दै छ। डा. रूप ज्योति पक्राउ पर्नु राम्रो नभएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘नेपालको इतिहास बोकेको औद्योगिक समूहका व्यक्तिहरूलाई यस्ता ससाना विषयमा पक्राउ गरेर हतोत्साहित गराउनुहुँदैन। यो घटनाले सम्पूर्ण उद्योगी व्यवसायीलाई त्रसित बनाएको छ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष रहेका पद्मम ज्योति र हालको कार्यसमितिका वरिष्ठ सदस्य सौरभ ज्योतिसमेत सञ्चालक रहेका छन्। नेपालको चर्चित औद्योगिक घराना ठगी प्रकरणमा मुछिएपछि यो घटनालाई छिटो टुंग्याउन औद्योगिक क्षेत्रका अगुवाहरू लागेका छन्। उनीहरूले सरकारलाई दबाब दिने तयारीमा लागेका छन्। पक्राउको विरोधमा नेपाल चेम्बर्स अफ कर्मसले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ।

ज्योतिलाई ल्यान्डमार्क डेभलपर्सले घरजग्गा बिक्रीका निम्ति सर्वसाधारणसँग रकम उठाएर घरजग्गा नदिएको आरोप लागेको छ।

कम्पनीका दुई सञ्चालक पक्राउ परेको अवस्थामा अन्य सञ्चालकहरूले उन्मुक्ति पाउन नसक्ने स्रोतको दाबी छ।

यस प्रकरणमा ११ जनाविरुद्ध उजुरी परेको भनिए पनि अहिलेसम्म डा. ज्योति र उनकी छोरी सुरुची ज्योति मात्रै पक्राउ परेका छन्। प्रहरीले उजुरी परेका अन्य व्यक्तिको नाम सार्वजनिक गरेको छैन।
ठगी काण्डमा नेपालको ठूलो औद्योगिक घरानाका सबै सदस्यहरू तानिन सक्ने खतरा बढेको छ। साथसाथै नेपालको औद्योगिक क्षेत्रमा समेत यसले तरंग सिर्जना गरेको छ।

नेपालमा आफूविरुद्ध ठगीको मुद्दा चलिरहँदा सिंगापुरमा रहेका रूप ज्योति विमानस्थलबाटै पक्राउमा थिए। डा. रूप ज्योतिका दाजु पद्म ज्योतिलगायतका परिवारका सदस्यहरू व्यावसायिक कामका निम्ति हाल नेपालमा नरहेको जनाइएको छ। स्रोतका अनुसार पद्म ज्योति भारतमा र सौरभ एवम् सहृदय ज्योति जापानमा रहेको बताइएको छ।

हाल प्रहरी हिरासतमा रहेका डा. रूप ज्योतिले आफू हिरासतमै बसेर यस घटनालाई सुल्झाउने बताइसक्नुभएको छ। रूप ज्योतिका बाबुछोरीलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।