प्रत्येक महिना सरकारले नयाँ काम गरेर देखाउँछः नेता गौतम


पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले प्रत्येक महिना सरकारले नयाँ नयाँ काम गरेर देखाउने बताउनुभएको छ ।

भक्तपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गौतमले विकास निर्माणका काम अब परिणाम देखिने गरि शुरु भएको बताउनुभयो ।

नेता गौतमले बितेका २ वर्ष कानुन, नियम निर्माण र सम्बृद्धिको जग बसाउने काममा बितेको बताउँदै अब प्रत्येक महिना जनतालाई यति काम भयो भनेर परिणाम देखाउने गरी सरकार अघि बढ्ने उहाँको भनाई थियो ।

सरकारले सम्बृद्ध नेपाल,सुखी नेपालीको सपना साकार पारेर छाड्ने बताउँदै उहाँले अबको तीन वर्ष विकास र सम्बृद्धिको वर्ष हुने दाबी गर्नुभयो ।

आगामी तीन वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्याउने दावी उहाँको थियो ।

गौतमले नेकपाका भक्तपुर प्रदेश १ क का उम्मेदवार डिपी ढकाल मृत्यु जितेर आएको व्यक्ति भएको बताउँदै उहाँको उम्मेदवारी प्रति अब नेकपामा कुनै समस्या नरहेको बताउनुभयो ।

गौतमले जनताले डिपी ढकाललाई प्रदेश सभा सदस्यमा जिताएर पठाए उहाँलाई मन्त्री बनाउने जिम्मा पार्टीको भएको उल्लेख गर्नुभयो ।