भारतीय राजदुतद्धारा बुढानीलकण्ठ नारायण मन्दिरको मठाधीश भवन उद्घाटन


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुढानीलकण्ठ नगरपालिकामा अवस्थित बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गर्नुभएको छ ।

काठमाडौं जिल्लाको उत्तर तर्फ शिवपुरी डाँडाको काखमा अवस्थित वुढानीलकण्ठ मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरुको सहभागीता थियोे ।

यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलोे प्रस्तर मूर्ति हो । संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरुका लागि बुढानीलकण्ठ मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ ।

यस मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरुबाट दैनिक रुपमा हजारौको संख्यामा तीर्थयात्रीहरु आउँछन् । मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहनेछ ।

भारतीय राजदुतावासका प्रेस विभागका प्रथम सेक्रेटरी अभिषेक दुवेका अनुसार भारत सरकारको २ करोड .१८ लाख रुपैया अनुदान सहयोगमा निर्माण भएको तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय दिनेछ ।

जिल्ला समन्वय समिति काठमाडौंैंले यस परियोजनालाई कार्यान्वयन गरेको हो । दुई देशबीच प्रगाढ तथा घनिष्ट सम्बन्ध रहेकोले नेपालको समृद्ध धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा भारतले दर्शाएको महत्वलाई यस परियोजनाले जोड दिएको बताइएको छ ।