बागलुङ २ मा नेकपाका बागी उम्मेदवार


न्युज अफ नेपाल, बाग्लुङ ।
आगामी मंसिर १४ गते हुन लागेको प्रदेश सभा सदस्य बागलुङ क्षेत्र नम्बर २ को (ख) उपनिर्वाचनका लागि नेकपाका शेरमान घर्तीले बागी उम्मेदवारी दर्ता गराएका छन् । सत्ता बागडोर सम्हालेको नेकपा र राष्ट्रिय जनमोर्चाबीच केन्द्रीय स्तरबाटै वामगठबन्धन बनाएर जाने सहमति भएको थियो ।

बागलुङमा नेकपाले राजमो उम्मेदवारलाई सघाउने निर्णयअनुसार, राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललगायतका नेता, कार्यकर्ताको उपस्थितिमा वामगठबन्धनबाट साझा उम्मेदवार बनेका राजमोका खिमविक्रम शाहीको उम्मेदवारी दर्ता गरिएको हो।

तर, पश्चिमको राजनीतिमा सक्रिय नेकपाका घर्तीले पार्टीले सदैव उपेक्षा गरेकाले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएको बताए । घर्ती १२ वर्ष राजमोमै सक्रिय भएर तत्कालिन बोबाङ गाविसको अध्यक्ष समेत भएका थिए ।

उपनिर्वाचनका लागि बाम गठबन्धनका तर्फबाट शाही, समाजवादी पार्टीबाट अशोक विक, राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, स्वतन्त्र सन्तोष भण्डारी, मंगोल नेशनल अर्गनाइजेसनका मित्रबहादुर मगरले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए ।