आलमको थुनछेक वहस सुरू


न्युज अफ नेपाल, रौतहट ।

१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहमद अफताब आलमको थुनछेक वहस सुरू भएको छ।

रौतहटका जिल्ला न्यायाधीश दिपक ढकालको इजलासमा आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष ९मुद्दाको सुनुवाई प्रकृया० अघि बढाउने कि थुनाबाहिर राखेर भन्ने बारे बहस सुरू भएको हो।

अहिले सरकारी वकिलले बहस सुरू गरेको रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले बताए। रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवाल, सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उपन्यायाधीवक्ता अर्जुन प्रसाद कोइराला र जिल्ला न्यायाधीवक्ता रूद्रप्रसाद पन्थीले सरकारका तर्फबाट बहस गर्ने छन्।

आलमका तर्फबाट भने वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोपाल कृष्ण घिमिरे, प्रेम बहादुर खड्का, अधिवक्ता सुनिल पोखरेल र आफूले बहस गर्ने अधिवक्ता योगेन्द्र बहादुर अधिकारीले बताए।

बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले उनीविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो।

निर्मम तरिकाले हत्या गरेको अभियोग लागेकामा आलमसहित उनका भाइ महम्मद अफताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह छन्।

आलम पक्राउ परे पनि अरू सबै फरार छन्।