चिसोका कारण तेस्रो दिनमै थलिए डा. केसी

0
Shares

राम धामी, डडेल्धुरा।

चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसीले डडेल्धुरा सदरमुकामबाट शरू गरेको १७औं पटकको सत्याग्रह बुधबार तेस्रो दिन पनि जारी छ।

सदरमुकामस्थित संघीय सरकार मातहतको डडेल्धुरा अस्पताल परिसर नजिकको एक निजी घरबाट सत्याग्रहमा रहेका डा. केसीले तेस्रो दिनबुधबार बिहानैदेखि सर्वसधारणसँगको भेटघाट र बोलचाल बन्द गरेका छन्।

अत्याधिक चिसोका कारण डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको र ब्लड प्रेसर निकै घटेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिनुभयो।

बुधबार बिहान नियमित ब्लड प्रेसर जाँच गरेका डा. कँडेलले डा. केसीको ब्लड प्रेसर निकै कम भएको बताउनुभयो। ‘हिजोसम्म ब्लड प्रेसर ठिकठिकै थियो,’ डा. कँडेलले भन्नुभयो– ‘आज ९०÷६० मा झरेको छ।’

डा. केसीलाई स्लाइन दिन खोज्दा नमानेको र स्वास्थ्य अवस्था बिग्रन थालेकाले अस्पताल लगेर राख्न आवश्यक भएको डा. कँडेलले बताउनुभयो।

डा. केसीले तेस्रो दिन बिहान केही ब्यक्तिसँग भेटघाट गर्नुभएको थियो। तत्पश्चात डा. केसीलाई भेटेर आन्दोलनमा एक्यवद्धता जनाउन गएका स्थानीयहरू भेटघाट नगरी फर्किन थालेका छन्।

ब्लड प्रेसर घट्दै गएकाले सत्याग्रही डा. केसी मुर्छा पर्नसक्ने स्वास्थ्यकर्मी बताउँछन्।डा. केसीले सोमबार बेलुकादेखि १७औं पटकको सत्याग्रह डडेल्धुरामा शुरु गरेदेखिनै स्थानीयले उनलाई सघाएका छन्।

डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाले सत्याग्रह स्थल पुगेर डा. केसीलाई भेट्दै आन्दोलनमा एक्यवद्धता जनाएका छन्।

मंगलबार जिल्लास्तरीय नेता कार्यकर्तासहित सत्याग्रहस्थल पुगेर भेटघाट गरेका नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले पवित्र भावनाका साथ डा. केसीले उठाएको आन्दोलनमा नेपाली कांग्रेस डडेल्धुराको एक्यवद्धता रहेको बताउनुभयो।

उहांले डा. केसीका माग समयमै सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो। डडेल्धुरा सदरमुकामबाट १७औं चरणको सत्याग्रह शुरू गर्दा डा. केसीले पत्रकार सम्मेलनको आयोजना गर्दै सात सुत्रीय माग सार्वजनिक गर्नुभएको थियो।

त्रिवि शिक्षण अस्पतालबाट केही दिनअघि अवकाश पाएका डा. केसीले सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिनुभएको थियो।

नेपालीको महानपर्व तिहार परेकाले केही ढिला गरी १७औं पटकको सत्याग्रह डडेल्धुराबाट शुरू गरिएको हो।

सरकारले माग सम्बोधन गर्नुको साटो उल्टै सम्झौता उलंघन गरेकाले आन्दोलनमा जानुको विकल्प नरहेको बताउँदै डा. केसीले बरु डडेल्धुरा मै मर्ने तर माग सम्बोधन नभएसम्म सत्याग्रह नछाड्ने बताउनुभएको छ।