‘उत्पादन नबढाएसम्म व्यापार घाटा कायम’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताउनुभएको छ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नै पुँजी र सीपको प्रयोग गरेर उत्पादनमा नलागेसम्म मुलुकमा व्यापार घाटा कायमै रहने बताउनुभयो।

उहाँले राष्ट्र निर्माणका लागि आवश्यक पुँजी र प्रविधि मुलुकभित्रै रहेको दाबी गर्दै त्यसको सदुपयोग गरेर अघि बढ्न सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो।

‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं,’ उहाँले भन्नुभयो– ‘सहकार्य गर्नतर बढि कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पूँजी पनि हुन्छ।’

उहाँले बाह्य पूँजी र प्रविधि भित्र्याउन सकिने तर बढी जोड आन्तरिक पुँजी र प्रविधिको परिचालन गर्नेतर्फ दिनुपर्ने पनि बताउनुभयो।

मन्त्री यादवले देशभित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भइरहेको उल्लेख गर्नुभयो ।

सबैभन्दा महँगो गाडी चढ्ने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापार घाटा कायम रहने तर्क समेत गर्नुभयो।