मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो, वडामा उपनिर्वाचनको चहलपहल शुरु


मोतीराम तिमल्सिना, काभ्रे ।

स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्तिक २७ गते निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोेनयन दर्ताका लागि कार्यतालिका सार्वजनिक गरिएको छ । मुख्य निर्वाचन अधिकृत पुरुषोतम ढकालले निर्वाचन कार्यतालिकाका बारेमा कार्यालय उद्घाटनसँगै जानकारी गराउनु भएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा धुलिखेल नगरपालिका वडा नम्वर २ मा उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि साउन १६ गतेसम्म १८ वर्ष पुगेका मतदाताहरुको संख्या १ हजार ८ सय ३४ रहेको छ । जसमा ९ सय ४९ महिला र ९ सय २८ पु्रुष रहेका छन् । स्थानीय तहको निर्वाचन २०७४ मा सोहि वडामा १ हजार ६ सय ४९ मतदाता थिए । जसमा ८ सय २८ महिला र ८ सय २१ पुरुष मतदाता थिए । जसमध्ये १ हजार ४ सय २ मत खसेको थियो ।

खसेको मध्ये १ हजार ३ सय ४४ मत सदर भएको थियो भने ५८ मत बदर भएको थियो । खसेको मध्ये नेकपाका उम्मेदवार स्वर्गिय राजन कोईरालाले ८ सय ३६ मत प्राप्त गर्नु भएको थियो भने एकिकृत नेकपा माओवादीका उम्मेदवारले २ सय ४८ मत प्राप्त गर्नु भएको थियो ।

अहिले नेकपा एमाले र एकिकृत नेकपा माओवादीको एकिकरण भए पछि उत्त मत बढ्ने देखिन्छ । नेपाली कांग्रेसका उम्मेदवारले २ सय ६० मत प्राप्त गरेका थिए । सोहि वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १ हजार ८ सय ३४ मत खसेको थियो । २ वर्षमा ४ जना मतदाता मात्रै थपिएका छन् ।

निर्वाचन कार्यालयले सेतिदेवी मावीमा क र ख मतदान केन्द्र तय गरेको छ । उम्मेदवारी दर्ता विहान १० बजे देखि १ बजेसम्मलाई तोकेको छ भने मनोनयन पद दर्ता भएको उम्मेदवारहरुको सूची सोहि दिन ३ बजेसम्म प्रकाशन गर्ने तालिका छ ।

उम्मेदवारहरुको विरोधमा उजुरी दिने समय कार्तिक २८ गते विहान ११ बजे देखि दिउसो साढे १ बजेसम्मलाई तोकिएको छ । मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन २९ गतेलाई तोकिएको छ भने उम्मेदवारी फिर्ता लिने कार्तिक ३० गतेलाई तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन कार्तिक ३० गते ३ बजे देखि ५ बजेसम्म तोकिएको छ ।

उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने मसिंर १ गते विहान ११ बजे देखि ४ बजेसम्मलाई तोकिएको छ । मतदान मसिंर १४ गते विहान ७ बजे देखि साँझ ५ बजेसम्मलाई तोकिएको छ । प्रतिनिधि सभाको निर्वाचन पछि देशभर १५ हजार मतदाता थपिएका छन् ।

उम्मेदवार छान्न सकस

धुलिखेल नगरपालिका वडा नम्वर २ मा वडा अध्यक्ष पदका लागि नेकपा र नेपाली कांग्रेस प्रमुख प्रतिस्पर्धी हुन् । दुवै दलबाट उम्मेदवारका आकाँक्षी धेरै भएकाले दलहरुलाई उम्मेदवार छान्न सकस भएको छ । नेपाली कांग्रेसले स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा न्यून मत प्राप्त गरेकाले जित्ने सुनिश्चित नभएकाले उम्मेदवारहरुको संख्या कम छ । तर नेकपाबाट एक्लै हुँदा पनि अत्याधिक मतले विजयी भएकाले अहिले एकिकरण पछि सहजै जित्न सकिने अपेक्षाका साथ उम्मेदवार बन्ने आंकाक्षा धेरैले गरेका छन् ।

जिल्ला कमिटीको एकिकरण भए पनि गाउँ र नगर कमिटीको एकिकरण नभएकाले उम्मेदवारको टुङ्गो लगाउने आधिकारीक निकायका बारेमा बहस भएको छ । धुलिखेल नगर भित्रका जिल्ला कमिटी सदस्यहरुको प्रारम्भिक बैठक बसेको छ । विहिबार वडा भित्रका संगठित सदस्यहरुको भेला बस्दै छ । सर्वसम्वत उम्मेदवारका लागि प्रयास शुरु भएको छ ।