मध्य मोदीको सुरुङ्ग ब्रेक थ्रुु


नेपाल समाचारपत्र, पर्वत ।

पर्वतको मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम (ब्रेक थ्रु) भएको छ । आयोजनाको दुई हजार ६ सय ९४ मिटर लामो सुरुङको ब्रेक थ्रु भएको हो ।

सुरुङको हेर्डबक्सदेखि १ हजार ५ सय ५० र पावरहाउसदेखि १ हजार १०० मिटरको बिचमा ब्रेक थ्रु भएको आयोजनाले जनाएको छ । सुरुङ खोल्ने काम सम्पन्न भएसँगै अब ‘कङक्रिटिङ’को काम शुरु भएको आयोजनाका वरिष्ठ जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिनुभयो । आयोजना शुरु भएको झण्डै पाँच वर्षमा सुरुङ खोल्ने काम सकिएको हो । ‘सबैभन्दा गाह्रो कामका रुपमा रहेको सुरुङ सफल रुपमा खोलिएको छ, अब अन्य संरचनामा जनशक्तिलाई केन्द्रित गर्छौ’, आचार्यले भन्नुभयो ।

निर्माणकार्य शुरु भएपछि विसं २०७२ को भूकम्प, नाकाबन्दी र समय–समयमा स्थानीयवासीको आन्दोलनका कारण समस्या झेल्दै आएको आयोजनाले हालसम्म ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको जनाएको छ ।

आयोजनाको हेर्डबक्सको काम अधिकांश सकिएको छ भने उत्पादनगृहको कामसमेत सोमबारबाट शुरु भएको वरिष्ठ जनसम्पर्क अधिकृत आचार्यले जानकारी दिनुभयो । मोदीखोलाको आडैमा निर्माण हुने उत्पादनगृह वर्षायाममा पानी जमेर काम गर्न नसक्ने अवस्था भएकाले ढिलाइ भएको हो पटक–पटक पावरहाउसको काम शुरु भए पनि खोलाका कारण सम्भव हुनसकेको थिएन ।

‘सोमबारदेखि मेसिन लगाएर पावरहाउसको पूर्वाधार निर्माणको काम शुरु गरेका छौ’ आचार्यले भन्नुभयो, ‘अब धमाधम काम हुन्छ।’ सुरुङ तथा हेर्डबक्सतर्फ फिनिसिङको काम शुरु भएको र पावरहाउस निर्माणका लागि तीव्ररुपमा काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

मोदी–१ मा पर्ने भुकताङले र वडा नं २ मा पर्ने देउपुरमा निर्माणाधीन यो आयोजनाको सम्झौता अवधि सकिन झण्डै एक वर्ष बाँकी रहँदासम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत वीरेठाँटी र मोदी–१ भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको मोदी–२ देउपुरको बेतेनीसम्म दुई हजार ६९४ मिटरको सुरुङमार्फत ल्याइएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ ।

झण्डै रु दुई अर्ब ८० करोडको लागत अनुमान गरिएको आयोजनाले गत मङ्सिरभित्र उत्पादन दिने लक्ष्य रहे पनि भूकम्प, नाकाबन्दीलगायतका कारणले दुई वर्ष म्याद थपिएको थियो । विसं २०७१ देखि शुरु भएको आयोजना २०७७ असारसम्म सम्झौता अवधि कायम रहको छ ।

सम्झौता अवधि अब झण्डै नौ महिना बाँकी रहेकाले उक्त समयभित्र उत्पादन थाल्ने गरी आयोजनाको काम तीव्र पारिएको आचार्यले बताउनुभयो ।