सुकुटे दुर्घटनाका मृतकहरुको बाह्रविसे र काठमाडौँमा दाहसंस्कार


चिरञ्जीवी मास्के, दोलखा ।

सिन्धुपाल्चोकको सुकुटेमा आईतवार भएको यात्रुबहाक बस दुर्घटनामा परी मृत्यु हुने मध्यका सात जनाको मंगलवार बाह्रविसेको भोटेकोशीमा र नौ जनाको काठमाडौँ पशुपति आर्यघाटमा सामुहिक दाहसंस्कार गरिएको छ ।

मृतक उदयपुरका विजय तमाङको शव उदयपुरनै पठाईएको र चितवनको पुजा वस्नेतको दाहसंस्कार अमेरीकामा रहेका छोराहरु आएपछिमात्र गरिने भएकोले उनको शव महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा राखिएको दोलखा शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलालले बताउनु भयो ।

मंगलवार (आज) विहान दुर्घटनामा मृत्यु भएकामध्य दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीका पाँच जना र वडा नम्बर ४ बागखोर मागा माईती भएको एक महिला र उनको छोरा गरी सात जनाको भोटेकोशीमा सामुहिक दाहसंस्कार गरिएको दोलखा शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलालले बताउनु भयो ।

सामुहिक दाहसंस्कार गरिएकाहरुमा शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीका १४ बर्षिय रिकेश खड्का, ४५ बर्षिय रत्नकुमारी राउत, उनको छोरा २९ बर्षिय किरण राउत, २० बर्षिय कविता राउत, २४ बर्षिय रञ्जीता केसी वस्नेत तथा वडा नम्बर ४ बागखोर मागा माईति भएको २७ बर्षको चमेली श्रेष्ठ (घर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्बर ४) र उनको छोरी ६ बर्षको सायरानी श्रेष्ठको सामुहिक दाहसंस्कार गरिएको शैलुङ गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष किरण वस्नेतले बताउनु भयो । मृतक किरण राउत नेपाली सेना भएकोले उनको दहासंस्कारको बेला सेनाले सलामी समेत दिएको थियो ।

दुर्घटनामा मृत्यु भएको शैलुङ गाँउपालिका वडा नम्बर ४ को ६ बर्षको सलिना तमाङ, १४ बर्षको दियुन लामा (दिल) र ५ बर्षको सजिना तमाङ, वडा नम्बर ३ को तीन महिनाको बालक सिसन तमाङ, वडा नम्बर २ को ७० बर्षको उरमाया मोक्तान, वडा नम्बर ५ काटाकुटीको ५२ बर्षिय चेतकुमारी वस्नेत, ३२ बर्षको निर्मला खड्का र १४ बर्षको निकेश खड्का सहित ९ जनाको काठमाडौँमा दहासंस्कार गरिएको शैलुङ गाँउपालिकाका अध्यक्ष दुलालले बताउनु भयो ।

आईतवार विहान ८ः३० बजे शैलुङ गाँउपालिका वडा नम्बर ४ बागखोरबाट काठमाडौँको लागि छुटेको शैलुङ यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे सडक खण्डबाट सुनकोशी नदिमा खसेर दुर्घटना हुँदा दोलखा शैलुङ गाँउपालिका वडा नम्बर २, ३, ४ र ५ का १५ जना तथा चितवन र उदयपुरको १/१ जना गरी १८ जनाको मृत्यु भएको थियो ।

मृतकको दहासंस्कारको लागि प्रति व्यक्ति २० हजारको दरले दहासंस्कार खर्च शैलुङ गाँउपालिकाले उपलब्ध गराएको अध्यक्ष दुलालले बताउनु भयो । बस समितिसंग कुरा मिल्न नसकेपछि पीडित परिवारले शैलुङका स्थानिय रिमालबाबु श्रेष्ठको संयोजकत्वमा एक सय एक सदसिय संघर्ष समिति गठन गरेको अध्यक्ष दुलालको भनाई छ ।

अरनिको समितिले मनोपलि गर्दै आएकोले सिण्डीकेट अन्त्य, भाँडामा एकरुपता, मृतकको परिवारलाई उचित क्षतिपूर्ति, कच्ची बाटोमा नयाँ बसहरु राख्ने, सिट क्षमता भन्दा बढी यात्रु ओर्सान नपाउने लगायतको माग संघर्ष समितिले सरकार समक्ष राखेको अध्यक्ष दुलाल बताउनु हुन्छ । मृतकहरुको शव दुर्घटना स्थल सुकुटेमै राखेर पोष्टमार्टम तथा दहासंस्कार गर्न सकिने भएपनि पीडितलाई झन ठूलो पीडा हुनेगरी मृतकको शवहरुलाई गाडिमा खात बनाएर राखि बाह्रविसे पु¥याउको अध्यक्ष दुलालको आरोप छ ।