प्रदेश प्रमुख झालाई बिदाईः ‘सरकारको निर्णयबाट विचलित छैन’


यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँचका निवर्तमान प्रदेश प्रमुख उमाकान्त झालाई बिदाई गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट आईतबार बर्खास्त हुनु भएका निवर्तमान प्रदेश प्रमुख झालाई प्रदेश सरकारले बुधबार बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा बोल्दै प्रदेश प्रमुख झाले सरकारले गरेको निर्णयबाट कत्तिपनि विचलित नभएको बताउनु भएको छ । यो सामान्य प्रकृया भएकाले यसबाट कोही पनि विचलिन हुनु पर्ने स्थिती नभएको उहाँले बताउनु भयो ।

उहाँले आफूले पाएजस्तै सहयोग आउने प्रदेश प्रमुखलाई पनि गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘मलाई आशा छ, मैले पाएजस्तै अव आउने प्रदेश प्रमुखले पनि सहयोग पाउनुहुनेछ ।’

संविधान कार्यान्वयन गर्ने क्रममा आफूले पहिलो प्रदेश प्रमुख हुने सौभाग्य प्राप्त गरेको स्मरण गर्दै यस करिव २ वर्षको अवधिमा ५० कानुन निर्माण भएको, आयोगहरु निर्माण भएको समेत स्मरण गर्नुभयो ।

उहाँले प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, कृषि, सहकारी तथा भूमि व्यबस्था मन्त्री आरती पौडेल, मन्त्रालयका सचिवहरु, प्रदेश प्रमुखको कार्यालयका सचिव तथा कर्मचारी लगायतले बिदाई गर्नुभएको थियो ।