ओभरलोड रोक्न ट्राफिक प्रहरीको जोड, राजमार्गमा सवारी निगरानी बढ्यो


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
सुकुटे दुर्घटनापछि राजमार्गमा गुड्ने सवारीसाधनमा प्रहरीले निगरानी बढाएको छ । साना सवारीसाधनलाई रोक्दै सचेत गर्न थालिएको छ । ठूला यात्रुवसलाई सवारी नियममा थप कडाई गरिएको छ । अरनिको राजमार्गमै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढि यात्रु बोक्ने यात्रुबसलाई रोक्दै कार्वाही गर्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले बुधबार राजमार्गमा सवारी अनुगमनमा निस्किए । खचाखच यात्रु बोक्ने बसलाई बीच बीचमा रोक्दै उनले सवारी नियम पालना गर्न सुझाए ।

बुधबार विहान ट्राफिक प्रहरी कार्यालय अगाडी ट्राफिक प्रहरीका प्रमुख राजेशकुमार दाहाल सीट क्षमताभन्दा बढि यात्रु लिएर आएका बसलाई रोक्दै सीटफुल मात्र यात्रु पठाइरहेका देखिए । ‘क्षमता भन्दा बढि यात्रु लिएर आएका बसलाई रोकीरहेका छौं, सीट फूल मात्र यात्रु पठाउन थालेका छौं’, ट्राफिक प्रहरी प्रमुख प्रनानि दाहालले भने ।

अँधेरीमा रहेको ट्राफिक प्रहरी कार्यालयले चालकलाई सचेत गराउँदै बसमा सवार यात्रुहरुलाई समेत सम्झाई बुझाई गर्न थालेको छ । ट्राफिक प्रहरीले बस रोकेर उभिएर यात्रा गरिरहेका यात्रुलाई झार्दा यात्रुहरु ट्राफिकसँगै सवाल जवाफ गरिररहेका थिए । मंगलबार एकै दिनमा सीट क्षमताभन्दा बढि यात्रु बोक्ने झण्डै ५० वटा यात्रुवस सवारी कार्वाहीमा परेको समेत उनले बताए ।

प्रहरीले व्यवहारिकता हेर्दा प्रहरी संगठन नै आलोचना खेपिरहेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले सवारी नियम कडाईका साथ कार्यान्वयन गर्न ट्राफिक प्रहरी कार्यालयलाई निर्देशनसमेत दिए । राजमार्गमा चल्ने यात्रुबसमा सीट क्षमताभन्दा बढि यात्रु नहाल्न जिल्ला प्रहरीले यातायात समितिहरुलाई आग्रहसमेत गरेको छ ।