अधिकारीलाई कार्यकक्षमै जलाइयो

0
Shares

नयाँदिल्ली, (एजेनसी)।

सम्पत्ति विवादको दौरान दक्षिणी भारतीय राज्य तेलँंगनामा एक महिला राजस्व अधिकृतलाई उनकै कार्यकक्षमा जिउँदै जलाइएको प्रहरीले मंगलबार जनाएको छ। सोमबार भएको सो आक्रमणपछि गम्भीर घाइते हुन पुगेकी विजया रेडीको घटनास्थलमै मृत्यु भएको थियो।

साथै उनलाई बचाउने क्रममा नराम्ररी घाइते हुन पुगेका कार्यालयका एक अर्को कर्मचारीको मंगलबार उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

एउटा ग्राफिक भिडियोमा सहयोगका लागि बेसरी चिच्याउँदै गरेकी रेडीको शरीरमा कुनै एक व्यक्तिले कम्बल फालेको पनि देखिन्छ।
प्रहरीले यस घटनामा आफैं पनि घाइते हुन पुगेका सुरेश नामक आक्रमणकारीलाई गिरफ्तार गरिसकेको दाबी गरेको छ।

रेडी एउटा अदालती सुनुवाइ कार्यक्रममा सरिक भएर फर्केपछि स्थानीय समयअनुसार अपराह्न करिब साढे एक बजे उक्त घटना घटेको थियो। रेडीलाई बचाउने क्रममा चन्द्रियाह र गुरुनाथन नामक अन्य दुई कर्मचारी पनि घाइते भएका छन्। गुरुनाथनको मृत्यु भइसकेको छ।