निर्माण व्यवसायी यो मुलुक निर्माणका लागि अपरिहार्य पात्र हुन्। यो व्यवसायमा कुनै व्यक्ति, समूहसँग नाफा–घाटाको हिसाबकिताब त हुन्छ, त्यो भन्दा धेरै आममानिससँग चासो र सरोकार राख्ने व्यवसाय पनि हो।
निर्माण व्यवसाय कुनै खास मानिससँग होइन, आममानिससँग सरोकार राख्छ। उसले गर्ने कार्यले अल्पकाल र दीर्घकालसम्म महत्व राख्छ। कमसल काम गरे त्यसले करोडौं घाटा र आमनागरिकले ठूलो सास्ती र सकस बेहोर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ।
गुणस्तरयुक्त काम भए त्यसले समाज र राष्ट्रको विकास र समृद्धिमा उल्लेख्य टेवा दिन्छ। तर, निर्माण व्यवसायी अर्थात् ठेकेदारको परिचय र छवि हामीकहाँ उति राम्रो छैन।
ठेकेदार भन्नेबित्तिकै एकखालको अपराधी, ठगदारजस्तो मानिसहरूले बुझ्छन्। आखिर किन ? निश्चय हो, ठेकेदार अपराधी कदापि होइन तर ठेकेदारका अधिक कार्यशैली र गतिविधिले अपराधी होइनन् र हुन सक्दैनन् भन्ने सकारात्मक दाबी र अडान कमजोर बन्ने गरेको छ।
यस्तो किन त ? अहिले अलपत्र आयोजनाका बारेमा जति उदेक लाग्दा अवस्था देखिन्छन्, यसले समग्र ठेकेदार खराब छन् भन्ने निष्कर्ष र सन्देशका हिसाबले हामीले भन्नु र कदापि बुझ्नु हुँदैन।
तर ठेकेदार भन्नेबित्तिकै पप्पु कन्ट्रक्सनका जस्ता खराब उदाहरण मात्र किन छरपस्ट देखिन्छ ? किन राम्रा उदाहरण दुर्लभ देखिन्छ ? यसमा ठेकेदार अर्थात् निर्माण व्यवसायीहरूबीच पनि गम्भीर छलफल र बहस आवश्यक छ।
– सञ्जय कोइराला,
लामाचौर, पोखरा।
प्रतिक्रिया