व्यक्तिगत सहयोगमा बन्यो बर्थिङ सेन्टर ,हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता हट्ने

0
Shares

रामचन्द्र विक, रामेछाप।

रामेछापको अति दुर्गम भनेर चिनिने उमाकुण्ड–१ गुम्देलमा गर्भवती महिलाका लागि अत्यावश्यक मानिने बर्थिङ सेन्टर बनेको छ। सदरमुकाम मन्थलीदेखि २६ कोष टाढा रहेको गुम्देलमा बर्थिङ सेन्टर नहुँदा लाखौं खर्च गर्दा पनि महिलाले ज्यान गुमाउनुपर्ने बाध्यता थियो।

बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन बनेसँगै आफूहरुले भोग्दै आएको समस्या समधान हुनेमा स्थानीयहरु आसावादी देखिएका छन्।
सरकारको समेत आँखा नपुगेको ठाउँमा स्थानीय युवा पेम्बा शेर्पा, समाजसेवी शिव श्रेष्ठ र बुद्धिमाया शेर्पाको पहलमा बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन बनेको हो।

गर्भवती महिलाले सुत्केरी हुँदा ज्यानै गुमाउनुपर्ने बाध्यताको पीडा महिलालाई मात्रै हैन त्यहाँका समाजसेवीलाई पनि उत्तिकै थियो।
करिब दुई वर्षअघि रामेछापको ठोसे स्थायी घर भएका समाजसेवी शिव श्रेष्ठसँग गुम्देलका स्थानीय युवा पेम्बा शेर्पाको भेट भयो।

सोही भेटमा शेर्पाले गुम्देलबाट एक हप्ताको समयमा दुई महिला सुत्केरी गराउनकै लागि हेलिकोप्टर चार्टर गरेर कठमाडौं लैजाँदा आमाको मात्रै ज्यान बाँचेको पीडादायी घटना सुनाउनुभयो।

गुम्देलका महिलाले भोग्दै आएको समस्यालाई समाधान गर्ने सोचका साथ समाजसेवी श्रेष्ठले बर्थिङ सेन्टरसहितको स्वास्थ्य भवन बनाउने योजना लिएर गुम्देलबाट फर्किनुभयो।

त्यसपछि बर्थिङ सेन्टर बनाउनका लागि आवश्यक पैसा जुटाउन सोलुखुम्बु नाम्चे घर भई हाल अस्ट्रिया बस्ने बुद्धिमाया शेर्पालाई श्रेष्ठले आग्रह गर्नुभयो।

समाजसेवी बुद्धिमाया शेर्पाले पनि गुम्देलका महिलाले भोग्दै आएको पीडालाई आफ्नै पीडा सम्झी बर्थिङ सेन्टरसहितको भवन बनाउनका लागि आवश्यक पर्ने पैसा जुटाउने प्रतिबद्धता जनाउँदै गुम्देलका स्थानीय युवा पेम्बा शेर्पालाई भवन बनाउनका लागि आग्रह गर्नुभयो।

समाजसेवी बुद्धिमायाको प्रतिबद्धतापछि स्थानीय पेम्बा शेर्पाले आफूले भवन बनाउँदाको क्षण सुनाउँदै भन्नुभयो– ‘बर्थिङ सेन्टरसहितको स्वास्थ्य भवन बनाउने प्राविधिक इस्टिमेटअनुसार काम गर्दै गएँ, अस्ट्रियाबाट बुद्धिमाया दिदीले भवन बनाउन आवश्यक पर्ने ५८ लाख २३ हजार ५ सय २५ रुपियाँ रकम पठाइदिनुभयो, उहाँकै सहयोगले गर्दा अहिले हामीले यो भवन पाएका छौँ।’

समाजसेवी शिव श्रेष्ठ र बुद्धिमाया शेर्पाको सहयोगमा बनेको बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन एक कार्यक्रमको आयोजना गरी स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ।

उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की बस्नेतको प्रमुख आतिथ्यता तथा वडा नम्बर १ का वडाध्यक्ष एवं गुम्देल स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नुर्वु शेर्पाको अध्यक्षतामा उक्त भवन हस्तान्तरण गरिएको हो।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी बुद्धिमाया शेर्पाले ग्रामीण भेगमा अत्यावश्यक बर्थिङ सेन्टर भएर मात्रै नहुने भन्दै त्यसको दिगो व्यवस्थापनका लागि समुदाय र स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो।

उहाँले भवन निर्माण भएसँगै त्यहाँ तत्काल आवश्यक सामग्रीको व्यवस्थापन गरिएको र आगामी दिनमा पनि बार्थिङ सेन्टर सञ्चालनमा ल्याएपछि आवश्यक पर्ने सामग्री उपलब्ध गराउन आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले गुम्देलका महिलाले सुत्केरी हुँदा भोग्नुपरेको समस्यालाई ध्यानमा राखेर भवन बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै बर्थिङ सेन्टर चलाउन स्थानीय सरकारले दिगो व्यवस्थापनको योजनासहित अगाडि सार्ने बताउनुभयो।

गुम्देलका स्थानीयले भोग्दै आएको समस्या समाधानका लागि ठूलो मेहनत गरेर सहयोग जुटाएर बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन बनाउन आफूहरु सफल भएको सुनाउँदै समाजसेवी शिव श्रेष्ठले गाउँमा बर्थिङ सेन्टरलाई निरन्तरता दिन स्थानीय नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो।

भवन हस्तान्तरण कार्यक्रममा भवन बनाउन लागि आर्थिक सहयोग गर्ने अस्ट्रियाका नागरिकद्वय डा. चरिता र रिमुन्ड रिडोल्टरको पनि सहभागिता रहेको थियो।

बुद्धिमायाको सहयोगमा यसअघि पनि भूकम्पले भत्काएको महालङ्गुर माविमा ३० लाख बराबरको लागतमा एउटा भवनसमेत बनेको छ। शेर्पाले उक्त विद्यालयमा अध्ययनर कम आर्थिक अवस्था भएका पाँच जना विद्यार्थीलाई प्रत्येक वर्ष प्रति विद्यार्थी बीस हजारका दरले छात्रबृत्ति समेत दिँदै आउनुभएको छ।