विद्युत् पोलले कालोपत्रे रोकियो

0
Shares

विजय नेपाली, पोखरा।

पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा महानगरमा पर्ने १२ किलोमिटरको सडक विद्युत् पोलका कारणले ६ महिनादेखि अलपत्र परेको छ। हेम्जा क्षेत्रमा पर्ने उक्त सडकको बीच भागमा रहेको विद्युत् पोलको कारणले सडक ग्राभेल तथा कालोपत्रे गर्ने काम ठप्प भएको हो।

सडकको लेभलिङको काम सकिए पनि सम्याउने काम रोकिएको हो। विगत ६ महिनादेखि सडक सम्याउने ग्राभेल गर्नेलगायतको काम रोकिएको छ जसले गर्दा कालोपत्रे गर्न निकै समय लाग्ने देखिएको छ।

पोलका कारणले नै हेम्जाको सडक यति बेला निकै धुलाम्मे भएको छ। आम सर्वसाधारण तथा यात्रु धुलोको शिकार बनेका छन् भने धूलोकै कारण दुर्घटनासमेत हुने गरेको छ।

‘केन्द्रले पोल हटाउनका लागि बजेट विनियोजन गर्न ढिला गर्यो त्यसको प्रत्यक्ष प्रभाव अहिले देखिएको छ। रकम विनियोजन भएको छ ।अब हटाउने काम पनि गर्छौं’ –परियोजनाका इन्जिनियर अन्नत बरालले भन्नुभयो।

पोलका कारणले सडकको ग्राभेल तथा सम्याउने काम रोकिए पनि नाली तथा स्ल्याब निर्माणको सम्पूर्ण काम भने नरोकिएको उहाँले भन्नुभयो।

चिसो मौसम शुरु भएको भन्दै अब करिब दुई महिना काम बन्द हुने बरालको भनाइ छ। ‘चिसोमा मेसिनले काम गर्दैन हामीले अब धेरै गरे मंसिर दोस्रो हप्तासम्म मात्र काम गर्छौं’ –उहाँले भन्नुभयो।

दशैंअघि नै ग्राभेल गर्ने लक्ष्य रहे पनि पोलका कारणले काम रोकिएको उहाँले बताउनुभयो।महानगरमा पर्ने उक्त १२ किलोमीटर सडकको बीच भागमा करिब ४ सय ५० बिजुलीका पोलहरु रहेका छन्।

पहिले २ लेनको सडक हुँदा सडक छेउछाउमा राखिएको पोल अहिले ६ लेनको बनाउन खोज्दा बीच भागमा पर्न गएको हो। उक्त १२ किलोमीटर सडक नयाँ प्रविधिको सडक हुनेछ।

अस्थल्ट कंक्रिट सडकको योजना दुई निर्माण कम्पनीले लिएका छन्। ६ किलोमिटर स्वच्छन्द इलाइट र ६ किलोमिटर सर्मा एन्ड कम्पनीले निर्माण गर्नेछन्। पोलका कारण सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले निकै सास्ती खेप्न बाध्य भएका छन्।