नयाँ ठाउँमा राजधानी : प्रचण्ड

0
Shares

नेपाल समाचारपत्र, बाँके।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ५ नम्बर प्रदेशको राजधानी ‘नयाँ ठाउँ’मा हुने उद्घोष गर्नुभएको छ।
नेपालन्जमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अध्यक्ष प्रचण्डले प्रदेश राजधानी बुटवलमा नहुने संकेत गर्नुभएको हो। अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘सबै जिल्लालाई सेन्टर पर्ने गरी नयाँ ठाउँमा राजधानी बनाउनुपर्छ।

यस विषयमा प्रधानमन्त्रीसँग झण्डै–झण्डै सहमति भइसकेको छ।’ उहाँले ठाउँ भने खुलाउनुभएन। विभिन्न चाडपर्वको अवसरमा नेकपा, बाँकेले आयोजना गरेको चियापान, नेपालगन्ज उद्योग बाणिज्य संघले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बाँके र बर्दियाका लागि प्रदेश राजधानी बुटवल ‘अपायक’ रहेको गुनासो आएपछि प्रचण्डले सबैलाई सेन्टर पर्ने र नयाँ ठाउँमा राजधानी हुने आश्वासन दिनुभएको हो।

यहाँका नेताहरुले बुटबलमा राजधानी हुनु बाँके र बर्दियाका लागि काठमाडौं हुनु सरह भएको बताएका थिए। नेपालगन्ज उद्योग बाणिज्य संघले लिखित बुझाएको ७ बुँदे माग र नेपालगन्जका मेयर डा. धवलशमशेर राणाले सकेसम्म बाँके, त्यो नभए दाङसम्म र त्यो पनि नभए बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिने उद्घोष गर्नुभएको थियो।

मेयर राणाले राजधानी बुटवल तोकिने बित्तिकै बाँके र बर्दियाका जनता कर्णालीमा मिसिन आन्दोलन गरिहाल्ने बताउनुभयो।संघको मागपत्र पढ्दा र मेयरको कुरा सुनेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सबैलाई पायक पर्ने ठाउँमा राजधानी हुन्छ।

विकास भइरहेको पुरानो ठाउँमा राजधानी राख्नुपर्छ भन्ने छैन। नयाँ ठाउँमा राख्न सकिन्छ। यदि त्यसो नभए तपाईहरुले भनेकोजस्तो (कर्णालीमा मिसिने) गर्नुस्। जनताको अगाडि के नै गर्न सकिन्छ र ?’

अध्यक्ष प्रचण्डले नेपालगन्जलाई कमजोर हुन नदिने बताउनुभयो। उहाँले छिट्टै नेपालगन्ज अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताउनुभयो। जमुनाहा–हिल्सा सडक विस्तार हुने क्रममा रहेकाले कैलास मानसरोबरको ‘गेटवे’ नेपालगन्ज हुने प्रचण्डको विश्वास थियो।

प्रचण्डले नेपालगन्ज महानगरपालिका, औद्योगिक नगरी, आफू प्रधानमन्त्री हुँदा नेपालगन्ज उद्योग बाणिज्य संघलाई सिटी बनाउनका लागि दिएको दश विगाह जमिन फिर्तालगायतका विषयमा काठमाडौं फर्किएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने बताउनुभयो।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव अजय टण्डनलगायतले प्रचण्डलाई दिएको सात बुँदामा यी मागहरु समावेश गरिएका थिए।प्रचण्डले पार्टीको चियापानमा आफू प्रधानमन्त्रीको ‘सूचनाकर्ता’ भएको बताउनुभयो।

‘प्रधानमन्त्री नहुँदा अहिले म देशव्यापी भ्रमणमा निस्किन पाएको छु। देशभरका कार्यकर्ताहरुको गुनासो सुन्ने र टिप्ने गरेको छु, प्रचण्डले भन्नुभयो, देशभरका कार्यकर्ताहरुको गुनासो लगेर प्रधानमन्त्रीलाई सुनाउँछु। म त अहिले सूचनाकर्ता भएको छु। मलाई पार्टीले बेलाबेलामा अनौठाअनौठा भूमिका दिने गरेको छ।’

प्रचण्डले ७० वर्षमा ५ वर्षसम्म सरकार टिक्न नसक्दा विकास नभएको विश्वासले आफूहरुले ५ वर्षे प्रधानमन्त्री बनाउन पार्टी एकता गरेको खुलाउनुभयो। ‘७० वर्षमा ५ वर्ष कुनै सरकार टिकेन।

स्थायी सरकार नभएर विकास नभएको हो कि भनेर हामीले ५ वर्ष टिक्ने सरकार बनाउन पार्टी एकता गरेर अघि बढ्यौं,’ प्रचण्डले भन्नुभयो, ५ वर्षे सरकारले राम्रो गरे राम्रो भइहाल्यो। यो सरकारले राम्रो गरे अरु ५० वर्ष सरकार चलाउँला। नराम्रो गरे कांगे्रेस त छँदै छ।’

चियापानमा पार्टीका ५ नम्बर प्रदेशका संगठन कमिटिका अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा, केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला अध्यक्ष आइपी खरेल, नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला, नेपालगन्जका मेयर डा. धवलशमशेर राणाले मन्तव्य राख्नुभएको थियो।

मेयर आएपछि मजाक

नेकपाको चियापान कार्यक्रम पूर्वएमाले कार्यालयमा राखिएको थियो। नेपालगन्जका मेयर डा. धवलशमशेर राणा कार्यक्रम शुरु भएपछि आइपुग्नु भयो। आउँदा आउँदै कार्यक्रम सञ्चालक नेकपाका सचिव अशोक कोइरालाले मेयरलाई आसन ग्रहणसँगै छोटो मन्तव्यका लागि बोलाउनुभयो।

बोलाउँदा कोइरालाले डा. राणा राप्रपाका महामन्त्री पनि हुनुहुन्छ। पहिलो पल्ट २०५४ सालमा मेयर जित्दा एमालेकै हुनुहुन्थ्यो भनेर माइक दिनुभयो।

मेयर राणाले आफू पार्टी कार्यालय परिसरमा छिर्दा नै मुसुमुसु हाँस्दै छिरेकोबाट मन्तव्यको शुरुवात गर्नुभयो। राणाका अनुसार, उहाँले कार्यक्रममा नेपालगन्ज महानगरपालिकाका कार्यपालिका सदस्य देउमल सुनारलाई कार्यक्रम शुरु भएपछि मात्रै बोलाउन भन्नुभएको रहेछ।

किनभने, छिटो कार्यक्रमस्थल अर्थात एमाले पार्टी कार्यालयमा जाँदा सबैले जिस्क्याएर उल्लीबिल्ली पार्ने मेयर राणालाई डर रहेछ। मेयर राणाले भन्नुभयो, म कार्यक्रम शुरु भएपछि मात्रै छिर्ने योजना अनुसार नै आएको हुँ।

छिटो आउने बित्तिकै सबैले ‘कहिले फर्किनुहुन्छ’ भनेर उल्लीबिल्ली गरिहाल्छन्।मेयर राणाले आफू २०५४ सालमा एमालेबाट मेयर भएको मात्रै होइन, एमालेको पार्टी भवन नै आफैको संयोजकत्वमा बनेको सुनाउनुभयो।

उहाँले एक रुपियाँ पनि भ्रष्टाचार नगरेको सगौरव बताउनुभयो। आफ्नो तलबसमेत नलिने भएकाले मेयर राणालाई इमानदार, भ्रष्टाचार नगर्ने नेताका रूपमा लिने गरिन्छ।

मेयर राणा बोलिसकेपछि प्रचण्डको पालो आयो। उहाँले मेयर राणालाई पुरानो घरमा फर्किन आग्रह गर्नुभयो। ‘मेयर राणा २०५४ सालमा एमालेबाट मेयर बनेको त थाहा थियो। यो भवन नै उहाँले बनाएको थाहा थिएन, प्रचण्डले भन्नुुभया– ‘अब आफूले बनाएको घरमा बस्न फर्किनुस्।’