निर्वाचन सुरक्षा कार्ययोजना अन्तिम चरणमा

0
Shares

सुनील महर्जन, काठमाडौं।

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षा कार्ययोजना खाकालाई अन्तिम रूप दिने तयारी गरिरहेको छ।
गृह मन्त्रालयले तयार पारेको सुरक्षा कार्ययोजनालाई अन्तिम रूप दिने तयारी भइरहेको आयोगले जनाएको हो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूले दिएको सुझावका आधारमा प्रस्तावित सुरक्षा योजनालाई अन्तिम रूप दिने तयारी भइरहेको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

गृह मन्त्रालयबाट तयार गरिएको प्रस्तावित सुरक्षा योजनाबारे छलफल गर्न गत आइतबार बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले समग्र सुरक्षा योजना प्रस्तुत गर्नुभएको थियो।

त्यसलाई विगतको निर्वाचनको सुरक्षा व्यवस्थाको अनुभव र सम्भावित सुरक्षा चुनौतीको आधारमा वस्तुनिष्ठ बनाउन अन्तिम तयारी भइरहेको उच्चस्तरीय सुरक्षा समितिका संयोजक एवं आयुक्त ईश्वरीप्रसाद पौड्यालले जानकारी दिनुभयो।

सुरक्षा योजनामा निर्वाचन सुरक्षासम्बन्धी नीति, समग्र निर्वाचन सुरक्षा व्यवस्थापनको कार्ययोजना, निर्वाचन सुरक्षा व्यवस्थाको अनुगमन तथा शान्ति सुरक्षाको स्थिति अनुमान, व्यवस्थापन र निर्देशन गर्नेलगायत रहेका छन्।

आयुक्त पौड्याल संयोजक रहेको समितिमा सेनाका रथी, गृहसचिव, रक्षा सचिव, निर्वाचन आयोगका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र निर्वाचन आयोगका सहसचिव गरी ९ सदस्य छन्।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालन खाका पनि तयार पारिएको छ।
उहाँले उपनिर्वाचनमा सुरक्षा निकायहरूबीच समन्वय कायम गरी सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने गरी योजना तयार भइरहेको जानकारी दिनुभयो।

सुरक्षा योजना तयार भएपछि आयोगमा सहसचिवको नेतृत्वमा गृह मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र ‘जीओईसी’ स्थापना गरिनेछ।

सुरक्षाको नेतृत्व नेपाली सेनालाई दिने तयारी भइरहेको छ। प्रस्तावित सुरक्षा योजनाअनुसार निर्वाचन हुने स्थल अर्थात् मतदान स्थलभित्र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्नेछ। त्यसभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाले सुरक्षा दिने गरी व्यवस्था मिलाउने तयारी भइरहेको छ।

प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि यही मंसिर १४ गते ३७ जिल्लामा विभिन्न क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन भयरहित र शान्तपूर्ण वातावरण सम्पन्न गर्न हिसाब सुरक्षा योजना तर्जुमा भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो।

उच्चस्तरीय सुरक्षा समिति, केन्द्रीय सुरक्षा समिति र प्रदेश सुरक्षा समिति, जिल्ला सुरक्षा समितिको सबैको सहभागितामा र प्रतिक्रिया लिएर योजनालाई केही दिनभित्र अन्तिम रुप दिने उहाँले बताउनुभयो।