सातै प्रदेशका प्रमुखले लिए शपथ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँहरूलाई शपथ ग्रहण गराउनुभएको हो।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायत मन्त्रीहरूको उपस्थिति रहेको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा १६३ को उपधारा (२) बमोजिम सातवटै प्रदेश प्रदेशका प्रदेश प्रमुखहरू नियुक्ति गर्नुभएको थियो।

कास्कीका सोमनाथ अधिकारीलाई प्रदेश १, बाँकेका तिलक परियारलाई प्रदेश २, झापाका विष्णु प्रसाईंलाई प्रदेश ३, म्याग्दीमा जन्मिनुभई चितवनलाई राजनीतिक थलो बनाउनुभएका अमिक शेरचनलाई गण्डकी, सिरहाका धर्मनाथ यादवलाई प्रदेश ५, बैतडीका गोविन्द कलौनीलाई कर्णाली प्रदेश र काठमाडौंकी शर्मिलाकुमारी पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त गरिएको थियो।

उहाँहरूलाई प्रदेश प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिफारिस गरेको थियो। राष्ट्रपति भण्डारीले मंगलबार शपथ गराउनुभएपछि उहाँहरूले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नुहुने भएको छ।

नेकपाको सक्रिय राजनीति गरिरहनुभएका उहाँहरूमध्ये अधिकारी, प्रसाईं, यादव र कलौनी पूर्वएमालेका हुन् भने परियार, शेरचन र पन्त पूर्वमाओवादी पृष्ठभूमिका हुनुहुन्थ्यो। मन्त्रिपरिषद्को आइतबारको बैठकले पूर्ववर्ती कांग्रेस सरकारले नियुक्त गरेका सातै जना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो।