बौलाहा स्यालले टोक्दा १६ घाइते

0
Shares

सिरहा, (नेस)।

सिरहाको लहान नगरपालिका–४ मा मंगलबार बिहान बौलाहा स्यालले एकै दिनमा १६ जनालाई टोक्दा गाउँ नै आतंकित बनेको छ।
सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको शिशुगारीबाट निस्केको बैलाहा स्यालले कुमहालटोलमा १६ जनालाई टोकेपछि गाउँले त्रसित भएका छन्।

एकाबिहानै शौचका लागि घरबाहिर निस्केको बेलामा सेतो रंगको बौलाहा स्यालले टोक्दा उनीहरू घाइते भएका छन्। तराईमा शौचालय अभावमा मानिसहरू खुला ठाउँमा शौच गर्न जाने गर्दछन्।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजाल र सशस्त्रका डीएसपी अर्जुन सापकोटाको टोली सूचना पाएलगत्तै घटनास्थल पुगेका थिए। घाइते सबै जनाको लहान अस्पतालमा उपचार भइरहेको अस्पताल प्रमुख सुनिलकुमार कुशवाहाले बताउनुभयो।

बौलाहा स्यालले टोकेर गम्भीर घाइते हुनेमा ७० वर्षीय रामबालक पण्डित, ४५ वर्षीय सोनाई मेस्तर, ५ वर्षीय मो. रेहान, ५५ वर्षीया गुलावदेवी महतो तथा सामान्य घाइते हुनेमा सञ्जुदेवी महतो, प्रदीप महतो, सुरजकुमार दास, नन्दनी मेस्तर, रविनाकुमारी मेस्तर, सञ्जीवकुमार दासलगायत रहेको वडाध्यक्ष रामनाथ पण्डितले बताउनुभयो।