सबैले रोजगारी पाउने गरी विकास गर्छौं : मुख्यमन्त्री भट्ट


डोटी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै नागरिकले आफ्नै प्रदेशमा रोजगारी पाउने गरी विकासका कार्यक्रम ल्याउने बताउनुभएको छ । विद्यालय भवन हस्तान्तरण कार्यक्रमका लागि आज डोटी आईपुग्नुभएका मुख्यमन्त्री भट्टले केन्द्र तथा प्रदेश सरकार मिलेर सुदूरपश्चिममा साना तथा मझौला स्तरका जलविद्युत् योजना शुरु गर्नुपर्ने दाबी गर्नुभयो ।

जिल्लाका ठूलीगाड, साइलिगाड र गण्डिगाडमा जलविद्युत् योजनाको सम्भावना अध्ययनको काम अघि बढेको बताउँदै मुख्यमन्त्री भट्टले भन्नुभयो, “हामीले जलविद्युत् योजनाका काम अघि बढाएका छौँ, सुदूरपश्चिमलाई विद्युत्मा आत्मनिर्भर बनाएर विद्युत्बाट नै आम्दानी गर्नेछौँ ।”

त्यस्तै मुख्यमन्त्री भट्टले काम खोज्न तथा रोजगारीकै लागि भारत जानुपर्ने परम्पराको पनि अन्त गर्न सुदूरपश्चिम सरकार लागिपरेको बताउनुभयो । उहाँले थप भन्नुभयो, “रोजगारीका लागि भारत जानुपर्ने अवस्थाको अन्त गर्न प्रदेश सरकार लागिपरेको छ, हामी आफ्नै प्रदेशमा रोजगारी उपलब्ध गराउँछौं ।”

जापान सरकार वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा सामुदायिक विकास केन्द्र (सिडिसी) को आर्थिक सहयोगमा आदर्श गाउँपालिका–४ मा रहेको दुर्गा आधारभूत विद्यालयमा रु ७१ लाख ८५ हजार ८३३ को लागतमा कूल चार भवन, आठ कोठा र दुई शौचालय र सायल गाउँपालिका–६ को महाकाली माविमा रु एक करोड ३५ लाख ५५ हजार ७५३ को लागतमा कूल पाँच भवन, १० कोठा, दुई शौचालय प्रबलीकरण तथा भूकम्प प्रतिरोधात्मक नयाँ भवन निर्माण गरिएको छ । दुवै विद्यालयमा रु दुई करोड ७ लाख ४१ हजार ५८६ लागतमा भवन निर्माण गरिएको सामुदायिक विकास केन्द्रका विपद् जोखिम न्यूनीकरण अधिकृत प्रयागराज कापडीले जानकारी दिनुभयो ।
रासस